आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती आज
वि.सं.२०८२ असार २९ आइतवार ०९:२१
shares
फाइल तस्वीर
काठमाडौँ, असार २९ ।
नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनामा ऐतिहासिक योगदान पुर्याउने आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश-विदेशमा विविध कार्यक्रमहरूमार्फत मनाइँदैछ। संस्कृत भाषामा रचित रामायणको भावानुवाद गर्दै नेपाली जनमानसमा धार्मिक, सांस्कृतिक र भाषिक चेतना फैलाएका भानुभक्तको सम्झनामा आजको दिन विशेष रूपमा मनाउने गरिएको हो।
तनहुँको चुँदीरम्घा गाउँमा विसं १८७१ असार २९ गते जन्मिएका भानुभक्तले आफ्ना रचनामार्फत नेपाली भाषा र साहित्यको जग बसालेका थिए। विशेषगरी संस्कृतबाट नेपालीमा भावानुवाद गरिएको रामायण मार्फत उहाँले धार्मिक ग्रन्थलाई आम नेपाली जनतासम्म पुर्याएर भाषिक एकताको सूत्रपात गर्नुभयो। आज पनि उहाँको रामायण घर–घरमा पाठ गरिन्छ र धार्मिक अनुष्ठानमा प्राथमिकता दिइन्छ। भानुभक्तले लेखेको वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका कृतिहरू साहित्यिक दृष्टिले महत्वपूर्ण छन्। जीवनको एक चरणमा सरकारी कामकाजमा भएको ढिलासुस्तीबाट पीडित बनेका उहाँले त्यसविरुद्ध कवितामार्फत सशक्त व्यंग्य गरेका थिए ।
“भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली।” भानुभक्तको योगदान केवल साहित्यमा मात्र सीमित छैन, उनले भाषालाई आम जनताको अभिव्यक्ति बनाउँदै सांस्कृतिक एकतामा उल्लेखनीय भूमिका खेलेका थिए। इतिहासकारहरूका अनुसार, जहाँ पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकरण गरे, त्यहाँ भानुभक्तले भाषिक र सांस्कृतिक एकता कायम गरे।
यद्यपि, भानुभक्तभन्दा पहिला पनि नेपाली भाषामा कविता लेख्नेहरू थिए भन्ने तर्क आज पनि कतिपय साहित्यिक वृत्तमा उठ्ने गर्छ। तर, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भानुभक्त अनुसन्धानकर्ता ज्ञाननिष्ठ ज्ञवालीका अनुसार, संस्कृत ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गर्दै भाषिक आन्दोलनको आधारशिला राखेकाले भानुभक्तलाई ‘आदिकवि’ उपाधि दिइनु पूर्णतः न्यायोचित हो। यस वर्षको भानु जयन्तीको अवसरमा काठमाडौँको रानीपोखरी अगाडिको भानुभक्तको प्रतिमामा माल्यार्पण तथा नगर प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। साथै, देशभरका साहित्यिक संस्थाहरूले गोष्ठी, कविता वाचन, रामायण पाठ लगायत कार्यक्रम गर्दै छन्। भारतको सिक्किम, दार्जिलिङ, भुटान, म्यानमारजस्ता नेपाली भाषीहरू रहेका विभिन्न मुलुकमा समेत भानुभक्त जयन्ती उत्साहपूर्वक मनाइँदैछ। नेपाली भाषालाई जनताको आवाज बनाउने यो कर्मले भानुभक्तलाई युग पुरुषको रूपमा चिनाएको छ।उहाँको निधन विसं १९२५ असोजमा भएको थियो। तर, उहाँको साहित्यिक योगदान र भाषिक जागरण आज पनि जीवित छ, प्रेरणास्रोत छ।










