काठमाडौँ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने ऐतिहासिक...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

कांग्रेसमा गुणस्तरीय सदस्यतामा जोड : गगन थापाद्वारा देशव्यापी शुद्धीकरण अभियान घोषणा

वैशाख १ देखि सदस्यता शुद्धीकरण अभियान, निष्क्रिय भीड हटाएर प्रतिबद्ध टोलीबाट संगठन बलियो बनाउने रणनीति

1.26K
shares

धनुषा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संगठनलाई अब संख्याको भीडभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा केन्द्रित गर्ने स्पष्ट सन्देश दिएका छन्।

जनकपुरधाममा आयोजित कांग्रेसको मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र व्यापक शुद्धीकरण अभियान चलाइने घोषणा गरे। उनका अनुसार अब संगठन विस्तारको आधार धेरै क्रियाशील सदस्य बनाउने होइन, निष्ठावान् र जिम्मेवार कार्यकर्ता उत्पादन गर्ने नीति हुनेछ।थापाले वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको अध्यावधिक प्रक्रिया शुरू हुने जानकारी दिँदै त्यसपछि देशव्यापी रूपमा सदस्यता शुद्धीकरण अभियान अघि बढाइने बताए।

उनले स्पष्ट शब्दमा भने,“अब क्रियाशील सदस्यको भीड होइन, पार्टीका लागि संकटमा उभिने कार्यकर्ता चाहिन्छ।” थापाका अनुसार १० लाख निष्क्रिय सदस्यभन्दा १ लाख प्रतिबद्ध सदस्य नै संगठनका लागि बढी प्रभावकारी हुनेछन्। उनले पार्टीलाई अनुशासित, नीति–सिद्धान्तमा आधारित र जनतासँग थप नजिक बनाउने दिशामा आफू अघि बढिरहेको बताए।प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै थापाले कांग्रेसको वर्तमान अवस्था इतिहासकै चुनौतीपूर्ण मोडमा रहेको स्वीकार गरे। यही अनुभवबाट पाठ सिकेर १५औँ महाधिवेशनलाई सफल बनाउने जिम्मेवारी आफूले लिने उनले प्रतिबद्धता जनाए।सहमहामन्त्री फरमुल्ला मन्सुरको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले कार्यकर्तालाई निराश नहुन आग्रह गरे।

कार्यक्रममा उपसभापति पुष्पा भुषाल, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्रीहरू डा डिला सङ्ग्रौला, मुक्ता यादव लगायत मधेस प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।