काठमाडौं। संसद् अधिवेशन स्थगित गर्दै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश अघि बढाएपछि देशको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

हर्मुजमा ट्रम्पको ४८ घण्टे अल्टिमेटम, नेपालमा इन्धन र महँगीको दबाब बढ्ने संकेत

मध्यपूर्व तनाव चर्किँदा विश्व तेल बजार अस्थिर, नेपालमा पेट्रोल–डिजेल, हवाई भाडा र रेमिट्यान्समा असर पर्ने चिन्ता

1.16K
shares

काठमाडौं । मध्यपूर्वमा चर्किंदो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई स्ट्रेट अफ हर्मुज ४८ घण्टाभित्र पुनः खोल्न कडा अल्टिमेटम दिएका छन्। समयसीमाभित्र जलडमरूमध्य नखोले भयानक सैन्य कारबाही हुने चेतावनी ट्रम्पले दिएका हुन्। अमेरिकी–इजरायली दबाबसँगै बेपत्ता अमेरिकी पाइलटको खोजी अभियान पनि तीव्र बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी सैन्य स्रोतहरूका अनुसार इरानमा खसालिएको एफ–१५ई स्ट्राइक इगलका एक पाइलटको उद्धार भए पनि अर्का अझै सम्पर्कविहीन छन्। अमेरिकी खोजी हेलिकप्टरमाथि पनि इरानी फायर भएको दाबीले क्षेत्रीय तनावलाई थप खतरनाक मोडमा पुर्‍याएको छ।इरानले ट्रम्पको अल्टिमेटमलाई “असन्तुलित र तनाव बढाउने कदम” भन्दै अस्वीकार गरेको छ। इरानी सैन्य नेतृत्वले अमेरिका थप आक्रमणतर्फ अघि बढे नर्कको ढोका खुल्ने चेतावनी दिएको छ।

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति पार हुने हर्मुज जलडमरूमध्यमा अवरोध जारी रहँदा अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा पुनः दबाब बढेको छ। विश्लेषकहरूका अनुसार ४८ घण्टे समयसीमाले विश्व बजारमा अस्थिरता र मूल्यवृद्धि थप चर्काउन सक्छ।यस संकटको प्रत्यक्ष असर नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि मार्फत देखिन सक्ने सम्भावना बलियो भएको छ। नेपालले भारतमार्फत आयात गर्ने पेट्रोल, डिजेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष जोडिएको हुँदा हर्मुजमा समस्या लम्बिए नेपाल आयल निगममाथि मूल्य बढाउने दबाब पर्न सक्छ।यसको असर सार्वजनिक यातायात भाडा, हवाई टिकट, खाद्यान्न ढुवानी, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत देखिन सक्छ। विशेषगरी पर्यटन सिजन र वैदेशिक उडानका लागि हवाई इन्धन महँगिए नेपाल आउने–जाने टिकट दर बढ्ने जोखिम छ।

मध्यपूर्वमा ठूलो संख्यामा कार्यरत नेपाली श्रमिकका कारण रेमिट्यान्स, श्रमिक सुरक्षा र सम्भावित उद्धार चुनौती पनि नेपाल सरकारका लागि संवेदनशील विषय बन्ने देखिएको छ।