गठबन्धनको हल्ला चुनावी अफवाह मात्रै : कांग्रेस
सामाजिक सञ्जालमार्फत फैलाइएका हल्ला कपोकल्पित भएको दाबी
वि.सं.२०८२ माघ २२ बिहीवार ०९:४०
shares

झापा । नेपाली कांग्रेसले झापा–५ मा कुनै दलसँग गठबन्धन हुने भन्ने चर्चा पूर्ण रूपमा भ्रामक भएको स्पष्ट पारेको छ। कांग्रेस झापा–५ क्षेत्रीय समितिले यस्ता कपोकल्पित हल्लामा विश्वास नगर्न कार्यकर्ता र मतदातालाई आग्रह गरेको छ।
क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत फैलाइएका गलत सूचनाले भ्रम सिर्जना गर्न खोजिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। विज्ञप्तिमा निर्वाचनअघि कुनै दलसँग गठबन्धन नहुने विषयमा पार्टी सभापति गगन थापाले स्पष्ट धारणा सार्वजनिक गरिसकेको उल्लेख छ।कांग्रेसले आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवार मन्धरा चिमोरिया पौड्याललाई विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित अभियानमा एकताबद्ध हुन आह्वान गरेको छ। साथै मतदातालाई कांग्रेसको चुनाव चिन्ह ‘रूख’ मा मतदान गर्न अनुरोध गरिएको छ।विज्ञप्तिमा निर्वाचनको संवेदनशील समयमा पार्टी र उम्मेदवारलाई प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न नेता–कार्यकर्तालाई सचेत गराइएको छ।



















