रुपन्देही-३ उपनिर्वाचन : खाणको अनिश्चितताबीच कांग्रेसमा टिकट दौड सुरु
वि.सं.२०८२ साउन २७ मंगलवार ०९:४७
shares
काठमाडौं – रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनले नेपाली कांग्रेसभित्र राजनीतिक तापक्रम बढाउँदै गएको छ। राप्रपा सांसद दीपक बोहराको निधनपछि रिक्त बनेको यो क्षेत्रमा उम्मेदवार चयनमा कांग्रेस नेतृत्व अझै अनिर्णीत छ।निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०८२ असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ। सोही दिन साँझ ५ बजेपछि राति ७ बजेसम्म प्रारम्भिक सूची प्रकाशन गरिनेछ।
हालसम्म कुनै दलले उम्मेदवार टुंगो लगाएका छैनन्। यस क्षेत्रमा राप्रपा, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ।गत निर्वाचनमा करिब २६ सय मतले पराजित भएका पूर्वगृहमन्त्री बालकृष्ण खाण कांग्रेसको पहिलो रोजाइका नेता हुन् । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका रूपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेकाले उनको उम्मेदवारी अनिश्चित देखिएको छ। अदालतको प्रतिकूल आदेश आए चुनावी दौडमा खाणलाई असहज पर्न सक्ने अनुमान गरिएको छ।
खाण मौन रहँदा रुपन्देही कांग्रेसमा टिकटका लागि भित्रभित्रै प्रतिस्पर्धा सुरु भएको छ। पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, महासमिति सदस्य विमल ढकाल र पूर्वप्रदेश सांसद पुष्पा चौधरीले आ–आफ्नो दाबेदारी अघि सारेका छन्। तीमध्ये खाणका निकट मानिने विमल ढकालको नाम अग्रपंक्तिमा छ।स्थानीय नेताहरूका अनुसार पार्टीभित्र विश्वासपात्रको हैसियत, अघिल्ला पदमा नपुगेको अवस्था र खाणको समर्थन प्राप्त हुने सम्भावनाले विमल ढकालको पक्षमा माहोल बन्दै गएको छ।
२०७९ को आम निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन पाए पनि खाण एमाले–राप्रपा गठबन्धनका दीपक बोहरासँग पराजित भएका थिए। तर, यसपालि एमाले–राप्रपा गठबन्धन नबन्ने पक्का भएकाले कांग्रेसका लागि मैदान केही सहज देखिन्छ। खाणको व्यक्तिगत ८–९ हजार मत यस क्षेत्रमा बलियो आधार मानिन्छ।रुपन्देही कांग्रेसका नेताहरू भन्छन् – खाणले दाबी गरे टिकट पाउने सम्भावना उनको उच्च छ। तर, उनले दाबी नगरे अन्य नेताहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन्। ढकालद्वय र चौधरी पनि खाणसँग निकट मानिन्छन्। जिल्लास्तरीय एक नेताले भने, पहिलो दाबी बालकृष्ण दाइकै हो, उहाँले अहिलेसम्म प्रतिक्रिया नदिएका कारण अन्य व्यक्तिले भित्रभित्रै दाबी गरिरहनु भएको हो।
त्यो नेताका अनुसार, “बालकृष्ण दाइ लड्ने अवस्थामा विमल ढकालले स्वतः छोड्ने हो, विकल्पमा उहाँको नाम आएको हो। विमल ढकालले आफू नलडे खाणले आफ्नो समर्थन गर्ने विश्वास लिएका छन्।विमल ढकाल खाणका विश्वासपात्र मानिन्छन् र शेखर कोइरालासँग पनि नजिक छन्। पछिल्लो समय खाण कोइरालातर्फ झुकेको चर्चा कांग्रेस वृत्तमा छ। खाणले दाबी नगरेको स्थितिमा ढकालको पक्कापक्की हो, ती नेताले दाबी गरे।ढकालले भने यसबारे खुलेर प्रतिक्रिया दिएका छैनन्। उनले भने, मेरो अहिले केही दाबी छैन, पहिलो दाबी बालकृष्ण दाइ नै हो, जनताको माग पनि त्यही हो। यता राप्रपाबाट आफ्ना पिताको क्षेत्रमा लड्न दाजुभाइ गौरब बोहरा र प्रज्जवल बोहराबीच टिकट प्रतिस्पर्धा छ। माओवादीबाट संविधानसभा सदस्य सोनिया यादव र हकिउल्लाह खाँको चर्चा छ।एमालेमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, यज्ञजित शाह र हरि अधिकारीबीच टिकटका लागि प्रतिस्पर्धा चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा सुलभ खरेल, ज्ञानु पौडेल र पार्थीबेन्द्र उपाध्यायको नाम अगाडि छ।



















