सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय
उद्धार तथा राहतलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्ने निर्णय, विपद्मा राजनीतिकरण नगर्ने दलहरूको प्रतिबद्धता
वि.सं.२०८३ भदौ १६ मंगलवार १८:३३
shares

काठमाडौं । मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्दै लैजाने निर्णय गरेको छ ।
बैठकमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्ने र राजनीतिक दलहरूले आवश्यक सहयोग तथा समर्थन गर्ने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।उनका अनुसार केन्द्रमा सरकार भएजस्तै प्रदेश र स्थानीय तहमा पनि सरकार रहेकाले उद्धार तथा राहतका काममा तीनै तहका सरकारलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय भएको हो ।
उनले केन्द्रमा गठन गरिएको सर्वदलीय संयन्त्रकै अवधारणाअनुसार प्रदेश र स्थानीय तहसम्म संयन्त्र विस्तार गर्दै लैजाने निर्णय भएको बताए । केन्द्रमा जुन किसिमले सर्वदलीय संयन्त्र बनायौँ, त्यही किसिमको संयन्त्र तल्लो तहसम्म सम्प्रेषित गर्दै लाने निर्णय भएको छ,उनले भने ।उनका अनुसार उद्धार तथा राहतका क्रममा संविधान र कानुनले स्थानीय तथा प्रदेश तहलाई दिएको अधिकार प्रयोग गर्दै काम गरिनेछ । विपद्का समयमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले तीनै तहका सरकारलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय भएको उनले बताए ।
सर्वदलीय बैठकले विपद्को समयमा राजनीतिक दलहरूबीच सहकार्य र समन्वय गर्दै पीडितको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्ने निष्कर्षसमेत निकालेको छ ।प्रवक्ता चालिसेले विपद्का बेला सबै राजनीतिक दलको प्राथमिकता पीडित जनताको उद्धार र राहत हुनुपर्ने बताए ।पार्टीको ब्याकअप सपोर्ट छ, यसमा कोही पार्टी अलग अलग छैन । हामी सबैको एउटै कुरा पीडित जनताको साथमा रहनुपर्यो । उद्धार र राहतमा संलग्न हुनुपर्यो, उनले भने ।उनले विपद्को संवेदनशील अवस्थामा राहत तथा उद्धारका काममा राजनीतिकरण गर्न नहुनेमा जोड दिए । यसमा कुनै राजनीतिकरण गर्नुपर्ने विषय नै छैन । यो संवेदनशील विषयमा राजनीतिकरण गर्नु पनि अपराध हो, उनले भने ।


















