नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला
विदुर–१० स्थित होटल वा गेस्ट हाउसजस्तो देखिने घरमा उद्धारका क्रममा शव भेटिए, पहिचान र स्वामित्वबारे अनुसन्धान जारी
वि.सं.२०८३ भदौ १६ मंगलवार ११:४५
shares

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्र २४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सोमबार उद्धारका क्रममा होटल वा गेस्ट हाउसजस्तो देखिने उक्त घरभित्र २४ जनाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, प्रहरी उपरीक्षक एसपी विपिन रेग्मीले शव फेला परेको स्थानमा मंगलबार पनि खोजी कार्य जारी राखिएको जानकारी दिए। उनका अनुसार मृतकहरूको पहिचान तथा भवनको स्वामित्वबारे विस्तृत विवरण सङ्कलन भइरहेको छ।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। बाढी र पहिरोमा परी हालसम्म ९ सयभन्दा बढीको शव फेला परिसकेको छ भने हजारौँ मानिस अझै सम्पर्कविहीन छन्।
रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार तथा बाढीले बगाएर लगिएका बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल निरन्तर खटिएका छन्। सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई अझै पनि पहिलो प्राथमिकतामा राखेको जनाएको छ।


















