काठमाडौं, २६ साउन । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

पृथ्वीजस्तै ग्रहमा पहिलो पटक वायुमण्डल भेटियो, जीवनको सम्भावनाबारे नयाँ आशा

४८ प्रकाश वर्ष टाढाको एलएचएस ११४० बी ग्रहमा हिलियम ग्यास पुष्टि, पृथ्वीबाहिर जीवनको खोजमा महत्वपूर्ण उपलब्धि

845
shares

काठमाडौं । वैज्ञानिकहरूले पहिलो पटक सौर्यमण्डल बाहिर रहेको पृथ्वीजस्तै चट्टानी ग्रहमा वायुमण्डल रहेको प्रमाण फेला पारेका छन्। यो खोजले पृथ्वीबाहेक पनि जीवनका लागि अनुकूल वातावरण भएका ग्रह हुन सक्ने सम्भावनालाई थप बलियो बनाएको वैज्ञानिकहरूको विश्वास छ।

हार्वर्ड विश्वविद्यालयको नेतृत्वमा गरिएको अध्ययनअनुसार एलएचएस ११४० बी (LHS 1140 b) नामक ग्रहको वायुमण्डलमा हिलियम ग्यास रहेको पुष्टि भएको हो। पृथ्वीबाट करिब ४८ प्रकाश वर्ष टाढा रहेको यो ग्रह आफ्नो सूर्यभन्दा सानो तथा चिसो रातो ताराको परिक्रमा गरिरहेको छ। यो ग्रह जीवनका लागि सम्भावित अनुकूल तापक्रम रहेको ‘ह्याबिटेबल जोन’ (Habitable Zone) भित्र पर्ने वैज्ञानिकहरूले बताएका छन्।

अनुसन्धानका प्रमुख लेखक डा. कोलिन चेरुबिमका अनुसार यो उपलब्धि अन्तरिक्ष विज्ञानका लागि ऐतिहासिक माइलस्टोन हो। उनका अनुसार पहिलो पटक अर्को ताराको जीवनयोग्य क्षेत्रमा रहेको पृथ्वीजस्तै चट्टानी ग्रहमा वायुमण्डल रहेको पुष्टि भएको छ।

वैज्ञानिकहरूले हालसम्म सौर्यमण्डल बाहिर ६ हजारभन्दा बढी एक्सोप्लानेट (Exoplanets) पत्ता लगाइसकेका छन्। तीमध्ये सयौं ग्रह जीवनका लागि उपयुक्त तापक्रम भएको क्षेत्रमा रहे पनि पृथ्वीजस्तै साना र चट्टानी ग्रह भने केही दर्जन मात्रै छन्। तीमध्ये पहिलो पटक एलएचएस ११४० बी मा वायुमण्डल रहेको प्रमाण फेला परेको हो।

अनुसन्धानकर्ताहरूका अनुसार हालसम्म हिलियम ग्यास मात्र पुष्टि भएको छ। हिलियमको उपस्थितिले मात्र जीवन सम्भव हुने निष्कर्ष निकाल्न नसकिने भए पनि वायुमण्डलको तल्लो तहमा पानीको वाष्प वा जीवनका लागि आवश्यक अन्य ग्यास हुन सक्ने सम्भावना रहेको उनीहरूको अनुमान छ। यद्यपि हालसम्म जीवनको प्रत्यक्ष प्रमाण भने भेटिएको छैन।

हार्वर्ड विश्वविद्यालयका अर्का वैज्ञानिक डा. डेभिड शार्बोनोले ब्रह्माण्डमा पृथ्वीबाहेक अन्यत्र पनि जीवन छ कि भन्ने मानव जातिको सबैभन्दा ठूलो जिज्ञासाको उत्तर खोज्ने दिशामा यो अध्ययन महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

यसैबीच वैज्ञानिकहरूको ध्यान के–२–१८ बी (K2-18 b) र ट्रापिस्ट–१ (TRAPPIST-1) प्रणालीका ग्रहहरूतर्फ पनि केन्द्रित छ। यद्यपि ती ग्रहहरूमा जीवनको सम्भावनाबारे हालसम्म कुनै ठोस निष्कर्ष निस्किएको छैन। नयाँ खोजले भने सौर्यमण्डल बाहिर जीवनयोग्य ग्रहको खोजलाई नयाँ दिशा दिएको वैज्ञानिकहरूको विश्वास छ।