काठमाडौं, २६ साउन । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

बीपी स्मृति दिवसमा कांग्रेसको ग्रीन रन, मानव सहायता कल्याण कोष स्थापना घोषणा

५ किलोमिटर दौडका विजेतालाई नगद पुरस्कार, जलवायु परिवर्तनबारे संकल्प र १० लाख रुपैयाँको कल्याण कोष घोषणा

1.07K
shares

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसले संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा मंगलबार ग्रीन रन प्रतियोगिता आयोजना गर्दै मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ।

ललितपुरस्थित युएन पार्कबाट सुरु भएको पाँच किलोमिटरको ग्रीन रन प्रतियोगितामा झण्डै १,४०० जनाले नाम दर्ता गराएका थिए। प्रतियोगितामा सहभागी पुरुष धावकमध्ये मुकेशबहादुर पाल १६ मिनेट १५.७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम भए। उनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे।

त्यसैगरी नरेन्द्रसिंह रावल दोस्रो हुँदै २५ हजार रुपैयाँ, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार रुपैयाँ, गणेश सिंह चौथो हुँदै १२ हजार रुपैयाँ, अमृत ठकुरी पाँचौँ हुँदै १० हजार रुपैयाँ तथा नागेश्वर अहिर छैटौँ हुँदै ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।महिला प्रतिस्पर्धामा भने केही धावकले निर्धारित धावनमार्ग छोडेर दौडिएपछि पुनः प्रतियोगिता गराइने नेपाली कांग्रेसले जनाएको छ।ग्रीन रनमा सभापति गगनकुमार थापा स्वयं पनि प्रतियोगीका रूपमा सहभागी भएका थिए भने सयौँले अप्रतियोगी रूपमा दौडमा सहभागिता जनाएका थिए।

प्रतियोगितापछि जावलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकतामा राख्न, नीतिगत व्यवस्था गर्न तथा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।सभापति थापाले ग्रीन रन केवल सचेतनामात्र नभई जलवायु परिवर्तनविरुद्ध सामूहिक संकल्पको अभियान भएको बताए। उनले बीपी कोइरालाले दशकौँअघि नै प्राकृतिक स्रोत–साधनको संरक्षण, दिगो विकास तथा समावेशी राज्यको अवधारणा अघि सारेको स्मरण गर्दै नेपाली कांग्रेस ती मूल्य र सिद्धान्तप्रति पुनः प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रमका अवसरमा जलवायु परिवर्तन विषयक चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। सहभागीहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको कांग्रेसले जनाएको छ। सानेपास्थित केन्द्रीय कार्यालयबाट बिरुवा वितरण कार्यक्रमलाई निरन्तरता दिइने पनि पार्टीले जानकारी दिएको छ।यसैबीच नेपाली कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ। सभापति थापाले कोषमार्फत घरबारविहीन बनेका एकल महिला तथा बालबालिकालाई सहयोग गरिने जानकारी दिए। उनका अनुसार प्रारम्भिक रूपमा पार्टी सदस्यहरूको योगदानबाट १० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको छ र आगामी दिनमा रकम बढाउँदै लगिनेछ।

कोषको विस्तृत कार्यविधि तथा पार्टीका आगामी राजनीतिक कार्यक्रमबारे भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ। सोही कार्यक्रममा बीपी स्मृति दिवसको विशेष समारोहसँगै पार्टीको ‘जरा अभियान’ समापन तथा नयाँ अभियानहरूको घोषणा पनि गरिनेछ।