विश्वकप फुटबल समूह ‘एल’को अन्तिम खेल आज
इंग्ल्यान्ड समूह विजेता बन्ने लक्ष्यमा, क्रोएसियालाई जित्नै पर्ने दबाब
वि.सं.२०८३ असार १३ शनिवार १७:५१
shares

काठमाडौं । जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘एल’का अन्तिम चरणका खेल आज राति हुँदैछन्। नेपाली समयअनुसार राति २:४५ बजे हुने खेलमा इंग्ल्यान्डले पनामाको सामना गर्नेछ भने अर्को खेलमा क्रोएसिया र घाना आमनेसामने हुनेछन्।
समूहको शीर्ष स्थान र नकआउट चरणको समीकरण अन्तिम खेलसँगै टुंगिने भएकाले दुवै खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। इंग्ल्यान्ड र घाना समान ४–४ अंक सहित शीर्ष दुई स्थानमा छन् भने क्रोएसियाको ३ अंक छ। लगातार दुई खेलमा पराजित भएको पनामा भने अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ।
इंग्ल्यान्ड र घाना दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। अब अन्तिम खेलले समूह विजेता र उपविजेता तथा नकआउट चरणमा सम्भावित प्रतिद्वन्द्वी निर्धारण गर्नेछ।इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो भने दोस्रो खेलमा घानासँग गोलरहित बराबरी खेलेको थियो। प्रशिक्षक थोमस टुचेलको टोलीले पनामालाई हराए समूह विजेता बन्ने सम्भावना बलियो रहनेछ। यदि घानाले क्रोएसियालाई हराउन नसके इंग्ल्यान्ड शीर्ष स्थानमै रहनेछ। तर इंग्ल्यान्ड पराजित भए वा बराबरीमा रोकिए घानाको नतिजामा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ।
पनामाका लागि भने यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। टोली पहिलो दुई खेलमा घाना र क्रोएसियासँग समान १–० गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। विश्वकप इतिहासमा लगातार पहिलो पाँच खेल हार्ने छैटौं राष्ट्र बनेको पनामा यसपटक कम्तीमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ।दुवै टोलीबीचको पछिल्लो विश्वकप भेटमा सन् २०१८ मा इंग्ल्यान्डले पनामालाई ६–१ ले हराएको थियो। त्यस खेलमा कप्तान ह्यारी केनले ह्याट्रिक गरेका थिए भने जोन स्टोन्सले दुई गोल गरेका थिए।उता समूहको सबैभन्दा महत्वपूर्ण खेलमा क्रोएसियाले घानाको सामना गर्नेछ। पहिलो खेलमा इंग्ल्यान्डसँग ४–२ ले पराजित भएको क्रोएसियाले दोस्रो खेलमा आन्ते बुडिमिरको निर्णायक गोलमा पनामालाई १–० ले हराउँदै नकआउट पुग्ने आशा कायम राखेको थियो।३४ वर्ष ३३६ दिनका बुडिमिर विश्वकपमा गोल गर्ने क्रोएसियाका सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्। कप्तान लुका मोड्रिचले पनि आफ्नो २१औँ विश्वकप खेल खेल्दै अर्को कीर्तिमान थपेका छन्।यद्यपि पनामाविरुद्धको खेलमा क्रोएसियाले जम्मा ६ प्रहार मात्र गरेको थियो, जसमध्ये दुई लक्ष्यमा थिए। विश्वकपमा जित निकालेका खेलमध्ये त्यो उसको सबैभन्दा कम आक्रमणात्मक प्रदर्शनमध्ये एक मानिएको छ।
घानाले पहिलो खेलमा पनामालाई१-०ले हराएको थियो भने दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्दै लगातार दुई खेलमा क्लिन सिट राखेको छ। उत्कृष्ट रक्षात्मक प्रदर्शनसँगै टोली आत्मविश्वासमा देखिएको छ।
















