गण्डकीमा कांग्रेस एकताबद्ध, चुनावी तयारी तीव्र
सभापति गगन थापाको उपस्थितिमा ११ जिल्लाका १८ निर्वाचन क्षेत्रको अवस्था समीक्षा, असन्तुष्टि समाधान गर्दै उम्मेदवार जिताउने रणनीतिमा जोड
वि.सं.२०८२ माघ २४ शनिवार ०९:३३
shares

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै नेपाली कांग्रेसले गण्डकी प्रदेशमा चुनावी तयारीलाई तीव्र बनाएको छ। पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा गण्डकी प्रदेशका नेता तथा कार्यकर्तासँग भएको छलफलपछि प्रदेशमा कांग्रेस संगठन थप एकताबद्ध बनेको निष्कर्ष निकालिएको छ।
सभापति थापाले गण्डकी प्रदेशका ११ जिल्लाअन्तर्गतका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको वर्तमान राजनीतिक अवस्था, उम्मेदवारको प्रतिस्पर्धात्मक क्षमता र चुनावी रणनीतिबारे विस्तृत रूपमा समीक्षा गरेका थिए। छलफलमा निर्वाचन अभियानलाई प्रभावकारी बनाउने, संगठनात्मक समन्वय मजबुत गर्ने र स्थानीय तहसम्म कार्यकर्तालाई सक्रिय बनाउने विषयमा विशेष जोड दिइएको सहभागी नेताहरूले बताएका छन्।
कांग्रेस नेता तथा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीका अनुसार बैठकमा प्रतिनिधिसभाका उम्मेदवारहरूको अवस्था, चुनावी परिचालनको योजना, नेता–कार्यकर्ताको जिम्मेवारी बाँडफाँट तथा आवश्यक रणनीतिक तयारीबारे गम्भीर छलफल भएको थियो। उनले पार्टीभित्र देखिएका केही असन्तुष्टि र मतभेदलाई संवादमार्फत समाधान गर्ने प्रयास गरिएको र त्यसले संगठनात्मक एकता मजबुत बनाउन सहयोग पुगेको बताए।
छलफलपछि नेता–कार्यकर्तामा नयाँ उत्साह थपिएको र निर्वाचनमा एकीकृत रूपमा अघि बढ्ने वातावरण बनेको नेताहरूको भनाइ छ। गण्डकी प्रदेशमा पार्टीको संगठनात्मक एकता सुदृढ बनाउँदै निर्वाचनमा सकारात्मक परिणाम ल्याउने लक्ष्यसहित कांग्रेस अघि बढिरहेको उनीहरूले बताएका छन्।
यसअघि सभापति थापाले मधेस प्रदेशका ८ जिल्लाका नेता–कार्यकर्तासँग जनकपुरमा चुनाव केन्द्रित छलफल गरिसकेका छन्। आवश्यकताअनुसार अन्य प्रदेशमा पनि यस्तै प्रकारका अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै चुनावी तयारीलाई थप व्यवस्थित बनाइने कांग्रेसले जनाएको छ।


















