राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि, सिंहदरबारमा बैठक सञ्चालनको विशेष व्यवस्था
वि.सं.२०८२ माघ ४ आइतवार ०९:१८
shares
फाइल तस्वीर
काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको १९औँ अधिवेशन आज बिहान ११ बजेदेखि औपचारिक रूपमा सुरु हुँदैछ। पछिल्ला दिनमा जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा आगलागी भई संरचना पूर्ण रूपमा ध्वस्त भएपछि यसपटक राष्ट्रियसभाको बैठक सिंहदरबार परिसरमै सञ्चालन गर्न लागिएको हो।
संघीय संसद् सचिवालयले वैकल्पिक स्थलमा बैठक सञ्चालन गर्न आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ। सुरक्षादेखि प्रविधि, बैठक कक्ष व्यवस्थापन तथा सांसदहरूको आवत–जावतसम्मका विषयमा विशेष ध्यान दिइएको सचिवालयको भनाइ छ।
अधिवेशनको पहिलो बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामा वाचन गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि पहिलो बैठकमै समावेश गरिएको छ।
सरकारको सिफारिसअनुसार गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा राष्ट्रपतिले संविधानको धारा ९३ (१) बमोजिम राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको हो।
यसैबीच, निर्वाचन आयोगले आगामी माघ ११ गते रिक्त हुने राष्ट्रियसभाका १९ सिटका लागि निर्वाचन तयारीलाई तीव्र बनाएको छ। तीमध्ये एक जना सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी सिटका लागि निर्वाचन प्रक्रिया अघि बढाइँदै छ।
प्रतिनिधिसभा निर्वाचनको सरगर्मी, राष्ट्रियसभामा नयाँ सदस्यहरूको आगमन र संसद् पुनः सक्रिय हुने चरणसँगै सुरु हुन लागेको यो अधिवेशनलाई राजनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। सरकारका नीति, विधेयकहरू तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षासहित आजदेखि राष्ट्रियसभा बैठकले गति लिने देखिएको छ।

















