निर्वाचन आयोग अवैध दबाबमा नपर्ने विश्वास छ : सभापति गगन थापा
वि.सं.२०८२ माघ १ बिहीवार १०:२१
shares

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले ऐतिहासिक दलको नेतृत्व सम्हाल्न पाउनु आफूका लागि सम्मान र गर्वको विषय भएको बताएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टी नेतृत्वलाई केवल पद होइन, गहिरो जिम्मेवारीका रूपमा लिएको स्पष्ट पारे।
सभापति थापाले आफू पार्टी सभापतिको हैसियतमा कुनै पनि काँग्रेस नेता–कार्यकर्ताको शिर झुक्न नदिने दृढ प्रतिबद्धता व्यक्त गरे। पार्टीका सदस्यहरूको आत्मसम्मान, विचार र अभिमतको रक्षा गर्नु आफ्नो पहिलो प्राथमिकता हुने उल्लेख गर्दै उनले काँग्रेसलाई एकताबद्ध, आत्मविश्वासी र जनतामुखी पार्टीका रूपमा अघि बढाउने संकल्प दोहोर्याए।
पार्टी विभाजनको हल्लालाई सशक्त रूपमा खण्डन गर्दै थापाले काँग्रेस नफुटेको र नफुट्ने स्पष्ट सन्देश दिए। १४औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवालाई समर्थन गरेका प्रतिनिधिहरूले नै आफूलाई सभापतिमा निर्वाचित गरेको स्मरण गराउँदै उनले पार्टीभित्र निरन्तरता र लोकतान्त्रिक अभ्यास कायम रहेको दाबी गरे।
नेपाली काँग्रेसको सभापतिको नाम उच्चारण गर्दा मात्रै पनि गर्वले छाती फराकिलो हुन्छ, थापाले भने, यो सानो जिम्मेवारी होइन। जुन विश्वासका साथ मलाई यो जिम्मेवारी सुम्पिनुभएको छ, म कसैको पनि शिर झुक्न दिने छैन। नेपाली काँग्रेसको शान र पहिचान जोगाउनेछु।
विशेष महाधिवेशनको वैधताबारे उठेका प्रश्नप्रति पनि थापाले स्पष्ट धारणा राखे। उनले संविधानले मान्यता दिएको निर्वाचन आयोग कुनै पनि अवैध शक्ति वा दबाबको प्रभावमा नपर्नेमा आफू विश्वस्त रहेको बताए। निर्वाचन आयोगले प्रचलित कानून, पार्टी विधान र स्थापित परम्पराका आधारमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले विधानमा प्रतिनिधिभन्दा माथि अन्य कुनै संरचना नदेखिएको जिकिर गरे।
हाम्रो संविधानले चिनेको निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्नेमा मलाई ठूलो विश्वास छ, थापाले भने, आयोगले कानून, पार्टी विधान र परम्परालाई आधार मान्छ, अरू कुनै अनधिकृत संरचनालाई होइन।त्यसैगरी, सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट विदा लिनुपर्ने आफ्नो अडान पुनः दोहोर्याए। पार्टीमा पुस्तान्तरण, नयाँ नेतृत्वको भूमिका र संस्थागत लोकतन्त्रलाई बलियो बनाउने दिशामा काँग्रेस अघि बढ्नुपर्ने उनले जोड दिए।
थापाको सम्बोधनलाई महाधिवेशन प्रतिनिधिहरूले ताली र समर्थनका साथ स्वागत गरेका थिए। उनका अभिव्यक्तिले काँग्रेसभित्र नयाँ नेतृत्वको आत्मविश्वास, एकताको सन्देश र संस्थागत प्रक्रियाप्रतिको प्रतिबद्धता झल्काएको टिप्पणी सहभागीहरूबीच सुनिन्थ्यो।

















