काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

सरकारको निर्णय कागजमै सीमित, सुदूरपश्चिममा पर्यटन बोर्ड कार्यालय अन्योलमा

4.42K
shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासको ठूलो सम्भावना रहे पनि नेपाल पर्यटन बोर्डको कार्यालय अहिलेसम्म स्थापना नहुँदा पर्यटन प्रवर्द्धन प्रभावित भएको सरोकारवालाहरूले बताएका छन्। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिम प्रदेश संघले सरकारले तत्काल पर्यटन बोर्डको प्रदेश कार्यालय खोल्नुपर्ने माग अघि सारेको छ।

आइतबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा पर्यटन सचिव मुकुन्द निरौलालाई स्वागत तथा कार्यकाल सफलताको शुभकामना दिँदै नाट्टा सुदूरपश्चिमले प्रदेशमा बोर्डको कार्यालय तत्काल स्थापना गर्न आग्रह गरेको हो।

कार्यक्रममा नाट्टा सुदूरपश्चिमका संस्थापक अध्यक्ष तथा वरिष्ठ समाजसेवी माया प्रकाश भट्टले चालु आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय खोल्ने स्पष्ट व्यवस्था भए पनि आर्थिक वर्षको आधा समय बितिसक्दा समेत कार्यान्वयन नहुनु दुःखद भएको बताउदै सुदूरपश्चिमका धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटकीय स्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके देशको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने उल्लेख गरे।

त्यस्तै नाट्टा सुदूरपश्चिमका महासचिव शिवहरि पाण्डेले पर्यटन प्रवर्द्धनका लागि स्थानीय व्यवसायीहरू सक्रिय भए पनि सरकारी तहबाट आवश्यक सहयोग नपुगेको गुनासो गर्दै सुदूरपश्चिमको पर्यटन विकास सबैको साझा जिम्मेवारी भएको बताए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सुदूरपश्चिममा कार्यालय खोल्न बोर्ड सकारात्मक रहेको जानकारी दिए। पर्यटन सचिव मुकुन्द निरौलाले जनशक्ति, आर्थिक भार लगायतका विषयलाई ध्यानमा राख्दै चरणबद्ध रूपमा कार्यालय स्थापना गरिने बताउँदै संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा सुदूरपश्चिमका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यहरूको सम्भावना र चुनौतीबारे समेत छलफल गरिएको थियो। साथै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को शाखा कार्यालय सुदूरपश्चिममा स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

छलफलमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नाट्टाका महासचिव युविका भण्डारी, पूर्व अध्यक्ष अच्युत गुरागाईं, एनएमएका उपाध्यक्ष बोधराज भण्डारी, नागरिक उड्डयन प्राधिकरणका राजेन्द्र सिंह नायक, टानका अध्यक्ष सागर पाण्डे, राष्ट्रिय खेलकुद परिषदका उपनिर्देशक जगदीश प्रसाद भट्ट, संस्कृति विद् डा. हरिदत्त पाण्डेय लगायतले सुदूरपश्चिमको पर्यटन क्षेत्रका समस्या र समाधानबारे आफ्ना धारणा राखेकाथिए।

यद्यपि सरकारले बजेटमै व्यवस्था गरेको भए पनि कर्मचारी अभावका कारण पर्यटन बोर्डको कार्यालय खोल्न सकिएको छैन। नाट्टा सुदूरपश्चिम तथा अन्य सरोकारवाला निकायहरूले भवनको व्यवस्थापनका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्न तयार रहेको जनाउँदै आए पनि कर्मचारी नखटिँदा छुट्याइएको बजेट कार्यान्वयन हुन नसकेको बताएका छन्।

सुदूरपश्चिमका पर्यटन व्यवसायी र सरोकारवालाहरूले तत्काल जनशक्ति व्यवस्था गरी पर्यटन बोर्डको कार्यालय सञ्चालनमा ल्याउन पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग पुनः आग्रह गरेका छन्।