काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

ओलीको ह्याट्रिक : एमाले अध्यक्षमा लगातार तेस्रो कार्यकाल

भृकुटीमण्डपमा बिहीबार सम्पन्न महाधिवेशनको अन्तिम मतपरिणामअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गरे,उनका एकमात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मतमा सीमित भए

1.52K
shares

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्। ११औँ राष्ट्रिय महाधिवेशनबाट लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुँदै ओलीले पार्टी नेतृत्वमा आफ्नो पकड अझ मजबुत बनाएका हुन्।

भृकुटीमण्डपमा बिहीबार सम्पन्न महाधिवेशनको अन्तिम मतपरिणामअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गरे। उनका एकमात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मतमा सीमित भए। ओली २०७१ साउनदेखि निरन्तर एमाले अध्यक्षको जिम्मेवारीमा छन्। २०७१ साल असारमा भृकुटीमण्डपमै सम्पन्न नवौँ महाधिवेशनमा उनले तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गरेका थिए। त्यतिबेला ओलीले १ हजार ४७ र नेपालले १ हजार ३ मत प्राप्त गरेका थिए।

२०७८ साल भदौमा पार्टी विभाजनपछि चितवनको सौराहामा सम्पन्न १०औँ महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहेका थिए। तर डा. भीम रावलको उम्मेदवारीपछि मतदान भएको थियो, जहाँ ओलीले १ हजार ८३७ मत ल्याउँदै पुनः अध्यक्ष जितेका थिए। भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि सत्ताच्यूत भएका ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस चर्किँदै गएपछि नियमित महाधिवेशनभन्दा एक वर्ष अगाडि नै महाधिवेशन आयोजना गर्दै नेतृत्वमा आफ्नो प्रभाव कायम राखेका छन्।

२००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका ओली सामान्य पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा उदाएका नेता हुन्। उनका पिता मोहनप्रसाद ओली ज्योतिषी थिए। सानैमा आमाको निधन भएपछि हजुरआमा राममाया ओलीको संरक्षणमा हुर्किएका ओली एसएलसीसम्म अध्ययन गरेका छन्।१७ वर्षको उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय ओलीले १४ वर्षभन्दा बढी जेल जीवन बिताएका छन्। झापा आन्दोलनका प्रमुख नेतामध्ये एक रहेका उनी पटक–पटक गिरफ्तारीमा परे।

खुला राजनीतिमा आएपछि ओली २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष बने। २०४८, २०५१ र २०५६ का आमनिर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका ओली गृहमन्त्री, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुँदै चार पटक प्रधानमन्त्री बनेका छन्।२०७२, २०७४ र २०८१ मा प्रधानमन्त्री बनेका ओली समकालीन राजनीतिका चतुर खेलाडीका रूपमा चिनिन्छन्। प्रखर वक्तृत्वशैली र रुखो अभिव्यक्तिका कारण उनी बेला–बेला विवादमा पर्ने गरेका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षको हैसियतमा ओलीले चीन, भारत, अमेरिका, बेलायत, रसिया, जापान, जर्मनी, फ्रान्ससहित दुई दर्जनभन्दा बढी देशको भ्रमण गरिसकेका छन्। पछिल्लो पटक उनले साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुँदै चिनियाँ राष्ट्रपति सी जिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग साइडलाइन भेटवार्ता गरेका थिए।

तर चीन भ्रमणबाट फर्किएको केही दिनमै जेनजी विद्रोहका कारण उनी सरकारबाट बाहिरिएका थिए। हाल ओली श्रीमती राधिका शाक्यका साथ भक्तपुरको गुन्डुमा बस्दै आएका छन्।