काठमाण्डौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। करिब...

पुरा पढ्नुहाेस्

भोलिको केन्द्रीय समिति बैठकअघि ओली–भण्डारी वार्ता सम्पन्न

1.92K
shares

काठमाडौं, ४ साउन — नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज महत्त्वपूर्ण भेटवार्ता भएको छ। पार्टीभित्रको संगठनात्मक गतिरोध र भण्डारीको पुनः सक्रियता विषयमा विवाद चुलिएको बेला भएको यो भेटलाई नेपाली राजनीतिक वृत्तले निकै अर्थपूर्ण रूपमा लिएको छ। पूर्वराष्ट्रपति भण्डारी दिउँसो ठीक ३:२० बजे एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रवेश गरिन्। केही समयपछि, ३:५७ बजे मात्र अध्यक्ष ओली आफ्नो कार्यकक्षमा प्रवेश गरे, जहाँ भण्डारी पहिले नै पुगेर उनलाई प्रतीक्षा गरिरहेकी थिइन्। लामो समयपछिको यो भेट मुलुकको सत्तारूढ दलको आन्तरिक समीकरणमा एउटा ‘टर्निङ प्वाइन्ट’को रूपमा हेरिएको छ।

भण्डारीले सक्रिय राजनीतिमा पुनः फर्किने तयारी गरिरहँदा, एमाले पोलिटब्युरो बैठकले उनको पार्टी सदस्यता नवीकरण नगरी “पेन्डिङ” राख्ने निर्णय गरेको थियो। यस निर्णयलाई कतिपयले अध्यक्ष ओलीको असहमति वा अवरोधको संकेतका रूपमा बुझेका छन्। भण्डारी पक्षले भने असार १४ गते नै उनले विधिसम्मत रूपमा सदस्यता नवीकरण गरिसकेको दाबी गर्दै आएको छ।

यो भेट भोलिदेखि सुरु हुने एमाले केन्द्रीय समिति बैठकभन्दा ठीक अघिको समयमै भएकोले थप महत्त्वपूर्ण मानिएको छ। भोलिको बैठकमा विधान संशोधन, नेतृत्व पुस्तान्तरण, र पूर्वराष्ट्रपति भण्डारीको भूमिकाबारे निर्णायक छलफल हुने अपेक्षा गरिएको छ।विश्लेषकहरूका अनुसार, ओली–भण्डारीबीच सहमति भएमा एमालेको नेतृत्व समीकरण मात्र होइन, देशको भावी राजनीतिक तालमेल समेत प्रभावित हुनसक्छ।

यो भेट भण्डारीको सम्भावित ‘कमब्याक’ र ओलीको आन्तरिक सन्तुलन रणनीतिको प्रत्यक्ष सङ्केत हो। एमालेभित्रै भण्डारीलाई लिएर स्पष्ट दुई धार छन् — एक पक्ष उनीलाई पार्टीमा ‘खुला स्वागत’ गर्न चाहन्छ भने अर्को पक्ष अझै ‘पार्टीमा फर्किनु अनुचित’ ठान्दछ। भेटपछि दुबै नेताबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ, तर पार्टीभित्र यो भेटले उत्पन्न गर्ने तरंगको असर केन्द्रीय समिति बैठकपछि प्रष्ट हुने अपेक्षा गरिएको छ।