भण्डारीलाई नेतृत्व दिने अवस्था छैन – एमाले अध्यक्ष ओली
वि.सं.२०८२ साउन २ शुक्रवार ०७:४९
shares
काठमाडौँ, २ साउन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय भूमिका वा नेतृत्व सम्हाल्ने सम्भावनाबारे स्पष्ट अस्वीकार गरेका छन् । सचिवालय बैठकमा भण्डारीको नामबारे छलफल भएको पुष्टि गर्दै ओलीले अन्तिम निर्णय पार्टीले विधान महाधिवेशनसम्म लिने बताएका छन्। तर भण्डारीलाई तत्कालीन नेतृत्व दिने वा जिम्मेवारी सुम्पिने विषयमा अहिले कुनै औपचारिक निर्णय नभएको उनको भनाइ छ।
एक टेलिभिजन अन्तर्वार्तामा ओलीले स्पष्ट शब्दमा भने, उहाँलाई अहिले नेतृत्व सुम्पिने अवस्था छैन, न पार्टीले यस्तो सम्भावना ठानेको छ, न स्वीकार गरेको। ओलीले भण्डारी लामो समयदेखि पार्टी कार्यबाट टाढा रहेको र संगठनात्मक अनुभव समेत कम भएको उल्लेख गरे। उहाँ आफैं राष्ट्रपति हुनुभएको होइन, पार्टीले पठाएको हो। त्यसपछि उहाँ सक्रिय राजनीतिबाट टाढा हुनुभयो उनले स्मरण गराए।
पूर्वराष्ट्रपति भण्डारी एमालेको नेतृत्वमा आउने चर्चा तीव्र भइरहेका बेला ओलीले त्यसले गणतन्त्र, राजनीति र समाजमा पर्न सक्ने असरबारे समेत प्रश्न उठाए। उहाँ आउनु के–कसरी असर पार्छ भन्नेबारे सोच्नुपर्ने हो। उहाँकै जीवनमा पनि त्यसको प्रभाव पर्छ ओलीले भने। उनको भनाइ अनुसार पार्टीले भण्डारीसँग औपचारिक संवाद गरेर वास्तविक स्थिति बुझ्ने तयारीमा छ। आउन चाहनुहुन्छ भने सिधै भन्नुपर्छ हामी सोध्छौं उनले थपे। पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफू पार्टी नेतृत्वमा फर्कन इच्छुक रहेको संकेत गरेकी थिइन् जसपछि एमालेभित्र र बाहिर व्यापक बहस सुरु भएको थियो।

















