काठमाडौँ । रुस र युक्रेनले रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा अस्थायी युद्धविराम...

पुरा पढ्नुहाेस्

रसुवागढी र तातोपानी बन्द हुँदा कोरला बन्यो चीनबाट फर्किने नेपालीको नयाँ बाटो

पुरानो नुन,अन्न व्यापार मार्ग अहिले संकटका बेला नेपाल चीन आवागमनको वैकल्पिक प्रवेशद्वार

1.43K
shares

मुस्ताङ । रसुवाको बाढी पहिरोका कारण रसुवागढी केरुङ सडकखण्ड अवरुद्ध भएपछि र चीनले तातोपानी नाका समेत बन्द गरेपछि नेपाल चीन आवागमनका लागि मुस्ताङको कोरला नाकाको महत्त्व अचानक बढेको छ ।

चीनमा रोकिएका नेपाली नागरिक तथा सवारीसाधनलाई केरुङ हुँदै चीनको तिब्बत क्षेत्रस्थित ढोङमसेन र लिची नाका पार गराएर कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ । यसका लागि नेपाल र चीन दुवै पक्षका सम्बन्धित अधिकारीहरूले आवश्यक सहजीकरण गरिरहेका छन् ।दुई प्रमुख उत्तरी नाकाबाट आवागमन प्रभावित भएपछि कोरला अहिले संकटका बेला वैकल्पिक प्रवेशद्वारका रूपमा प्रयोगमा आएको हो । यसले चीनमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन सहज बनाउनुका साथै कोरला नाकाको दीर्घकालीन सम्भावनालाई समेत बहसमा ल्याएको छ ।

कोरला नाका अहिले मात्रै महत्त्वपूर्ण बनेको भने होइन ।यो क्षेत्र नेपाल तिब्बतबीचको पुरानो व्यापारिक मार्गका रूपमा लामो समयदेखि प्रयोग हुँदै आएको इतिहास छ ।स्थानीयइतिहासकारका अनुसार राणाकालदेखि प्रजातन्त्र र पञ्चायतकालसम्म भोट र पहाडबीच हुने व्यापारमा कोरला क्षेत्रको महत्त्वपूर्ण भूमिका थियो । त्यसबेला मुस्ताङको टुकुचे प्रमुख व्यापारिक तथा भन्सार केन्द्रका रूपमा विकसित भएको थियो ।तिब्बती व्यापारीहरू नुन, ऊन र पशुचौपाया लिएर टुकुचेसम्म आउने गर्थे । नेपालबाट भने जौ, मकै, चामल, सातु तथा पित्तलका भाँडाकुँडा तिब्बततर्फ लैजाने गरिन्थ्यो ।यही नुन,अन्न व्यापारले मुस्ताङको स्थानीय अर्थतन्त्रलाई लामो समयसम्म चलायमान बनाएको थियो तर सन् १९५०/५१ पछि तिब्बतमा चिनियाँ नियन्त्रण स्थापित भएपछि पुरानो व्यापारिक प्रणाली विस्तारै कमजोर हुँदै गयो । सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेसँगै परम्परागत व्यापारको स्वरूप पनि परिवर्तन भयो ।

कोरला क्षेत्रको इतिहास व्यापारसँग मात्रै जोडिएको छैन, सीमा तथा सुरक्षा घटनासँग पनि जोडिएको छ ।ऐतिहासिक अभिलेखअनुसार सन् १९६० जुन २८ अर्थात् वि.सं. २०१७ असार १५ मा कोरला नजिकै चिनियाँ सेनाले नेपाली सीमा गस्ती टोलीमाथि गोली चलाउँदा एक नेपाली सुरक्षाकर्मीको मृत्यु भएको थियो । चिनियाँ पक्षले नेपाली टोलीलाई तिब्बती विद्रोही ठानेर कारबाही भएको जनाएको थियो । घटनापछि नेपालले कूटनीतिक विरोध जनाएपछि चीनले क्षमा माग्दै ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको विवरण पाइन्छ ।यस्ता राजनीतिक तथा सुरक्षा घटनाक्रमसँगै कोरला आसपासको पुरानो व्यापारिक गतिविधि पनि क्रमशः खुम्चिँदै गयो ।

सीमापार व्यापार कमजोर भएपछि टुकुचेका शेरचनलगायत थकाली व्यापारीहरूले आफ्नो व्यवसाय काठमाडौं, विभिन्न जिल्ला सदरमुकाम र तराईका बजारसम्म विस्तार गरे ।बाटोछेउमा सञ्चालन गरिएका खरका भट्टीहरू पछि थकाली भान्साघर, होटल, लज हुँदै आधुनिक आतिथ्य व्यवसायमा रूपान्तरण भए । यसरी सीमापार व्यापारमा आएको परिवर्तनले मुस्ताङको स्थानीय अर्थतन्त्र र थकाली समुदायको व्यवसायिक यात्रालाई समेत नयाँ दिशातर्फ मोड्यो ।

पञ्चायतकालदेखि नै कोरला नाका सञ्चालन र सडक पहुँच विस्तारका प्रयास हुँदै आए पनि पूर्वाधारको अभाव तथा राजनीतिक परिस्थितिका कारण अपेक्षित गति लिन सकेन ।२०६२/६३ को जनआन्दोलनपछि मुस्ताङमा सडक विस्तार हुँदै माथिल्लो मुस्ताङसम्म सवारीसाधन पुग्न थालेपछि कोरला नाकाको सम्भावना फेरि चर्चामा आयो । २०७२ सालको भूकम्प र दक्षिणतर्फको नाकाबन्दीपछि चीनसँग जोडिने उत्तरी मार्गको रणनीतिक महत्त्व अझ बढ्यो ।त्यसपछि सरकारले कोरला नाकासम्म सडक स्तरोन्नति तथा कालोपत्रेका लागि विभिन्न चरणमा बजेट विनियोजन गर्दै आएको छ । सडक पूर्वाधार सुधारका काम अझै विभिन्न चरणमा अघि बढिरहेका छन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नोर्बु गुरुङका अनुसार गत वर्ष लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरूले कोरला नाका हुँदै भिसा लगाएर आफ्नै खर्चमा तिब्बतको ल्हासा र सिगात्सेसम्म भ्रमण गरेका थिए ।उनका अनुसार कोरला हुँदै आवागमन विस्तार गर्न सकिए माथिल्लो मुस्ताङको पर्यटन, स्थानीय व्यापार तथा सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुन सक्छ ।

नेपाल चीनबीचका तातोपानी, केरुङ र कोरला तीनवटै नाकाको आ आफ्नै ऐतिहासिक तथा रणनीतिक महत्त्व छ । तर अहिले रसुवाको बाढी पहिरोका कारण रसुवागढी प्रभावित हुनु र तातोपानी नाका समेत बन्द भएपछि कोरला वैकल्पिक मार्गका रूपमा प्रयोग हुनुले यसको सम्भावनालाई थप उजागर गरेको छ ।कुनै समय नुन र अन्नको व्यापार हुने बाटो अहिले चीनमा रोकिएका नेपालीलाई स्वदेश फर्काउने वैकल्पिक प्रवेशद्वार बनेको छ । तत्कालीन संकट व्यवस्थापनमा कोरलाले खेलेको भूमिकाले भविष्यमा यसलाई नेपाल चीन व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनको भरपर्दो उत्तरी मार्गका रूपमा विकास गर्नुपर्ने सम्भावनातर्फ संकेत गरेको छ ।