काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन पूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

सुनसरी घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने, दोषी जो कोहीलाई कानुनी दायरामा ल्याइने : प्रधानमन्त्री बालेन शाह

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहको शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षसँग संयम अपनाउन आग्रह

156
shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगले गरिने बताएका छन्। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याएर कारबाही गरिने उनको स्पष्ट प्रतिबद्धता छ।बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारले पछिल्ला घटनाप्रति गम्भीर संवेदनशीलता अपनाएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

प्रधानमन्त्री शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत स्थानमा भएका घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गरे।उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकिएको जानकारी दिए।

प्रधानमन्त्रीका अनुसार घटना भएलगत्तै सुरक्षा निकाय परिचालन गरी थप अप्रिय घटना हुन नदिने, शान्ति सुरक्षा कायम गर्ने तथा अवस्थालाई सामान्य बनाउने प्रयास भइरहेको छ। गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गरिसकेको उल्लेख गर्दै उनले अनुसन्धान पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाए।शान्ति सुरक्षा सुदृढ बनाउन केन्द्रमा सर्वदलीय बैठक आयोजना गरिएको, स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका नेतृत्वसँग निरन्तर संवाद भइरहेको प्रधानमन्त्री शाहले बताए। स्थानीय अवस्थाको प्रत्यक्ष अनुगमन तथा पीडितसँग भेटघाट गर्न गृहमन्त्री सुरक्षा निकायका उच्च अधिकारीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेको पनि उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक निर्णयसमेत गरिसकिएको बताए।यसैबीच उनले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगर्न आग्रह गरे। सरकारी निकायबाट सार्वजनिक गरिएका आधिकारिक सूचना र तथ्यमा मात्र विश्वास गर्न उनले सबैलाई अनुरोध गरे।

राज्यको पहिलो दायित्व नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र शान्ति कायम गर्नु रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधिप्रति सरकार कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिए।उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा पालन गर्ने मौलिक अधिकार दिएको उल्लेख गर्दै सरकारले त्यसको संरक्षणमा पूर्ण प्रतिबद्धता जनाएको बताए।

प्रधानमन्त्री शाहले धर्मले प्रेम, करुणा, दया र शान्तिको सन्देश दिने भएकाले कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनलाई स्वीकार नगर्ने उल्लेख गरे। देशको एक स्थानमा भएको दुःखद घटनाका आधारमा कुनै सम्पूर्ण समुदायलाई दोषारोपण गर्नु वा अन्य स्थानमा प्रतिशोधको भावना फैलाउनु कुनै पनि दृष्टिकोणबाट उचित नहुने उनको भनाइ थियो।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा पनि नेपाली समाजको एकता, सहिष्णुता र भाइचाराले देशलाई अघि बढाएको स्मरण गराउँदै सम्पूर्ण नागरिक, राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम र सरोकारवालालाई धैर्यता, संयमता र राष्ट्रिय एकता कायम राख्न आह्वान गरे।