काठमाडौं, ११ साउन । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नागढुंगा सुरुङमार्गको औपचारिक शुभारम्भ, काठमाडौं प्रवेश–निर्गमन अब थप सहज र छिटो

सरकारी अधिकारी, पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल तथा जापानी राजदूतको उपस्थितिमा उद्घाटन सम्पन्न; राजधानीको यातायात व्यवस्थापनमा नयाँ युगको सुरुवात

286
shares

काठमाडौं, ११ साउन । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो नेपालकै पहिलो व्यवस्थित सडक सुरुङ मार्ग हो, जसको शिलान्यास भएको सात वर्षपछि सञ्चालनमा आएको हो।

नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गरेका हुन्। सरकारका अनुसार सुरुङ मार्ग पहिलो चरणमा आपत्कालीन प्रयोजनका सवारी साधनका लागि सञ्चालन गरिनेछ। त्यसपछि आवश्यक परीक्षण तथा व्यवस्थापन पूरा गर्दै निजी तथा सार्वजनिक सवारी साधनलाई क्रमिक रूपमा सुरुङ मार्ग प्रयोग गर्न अनुमति दिइनेछ।

यस आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, जग्गा अधिग्रहण तथा मुआब्जा विवादलगायत कारणले आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।निर्माणका क्रममा २०८० साउन २२ गते आपत्कालीन उद्धारका लागि निर्माण गरिएको रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ गरिएको थियो। त्यसको करिब १० महिनापछि मुख्य सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको थियो। २०८१ असार ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मुख्य सुरुङको  ब्रेक थ्रु कार्यक्रम सम्पन्न गरेका थिए।

मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने २.५५७ किलोमिटर लामो छुट्टै आपत्कालीन (रेस्क्यु) सुरुङ पनि निर्माण गरिएको छ। आधुनिक सुरक्षा प्रणाली, आपत्कालीन निकास, भेन्टिलेसन, निगरानी क्यामेरा तथा अग्नि नियन्त्रण प्रणालीसहित सुरुङ मार्ग तयार गरिएको छ।सुरुङ मार्गमा पैदल यात्री, दुई पाङ्ग्रे सवारी, तथा डिजेल, पेट्रोल लगायतका प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई सञ्चालन गर्न अनुमति दिइने छैन।

सुरुङ मार्ग प्रयोग शुल्क

सरकारले सुरुङ मार्ग प्रयोगका लागि निम्नानुसार शुल्क निर्धारण गरेको छ–

  • कार/भ्यान : काठमाडौं भित्रिँदा रु. ६५, बाहिरिँदा रु. ६०
  • मिनिबस/टिपर : भित्रिँदा रु. ११५, बाहिरिँदा रु. ८०
  • बस/ट्रक : भित्रिँदा रु. २६०, बाहिरिँदा रु. २००
  • हेभी ट्रक : भित्रिँदा रु. ६००, बाहिरिँदा रु. २५०

आयोजना प्रारम्भ हुँदा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता तथा नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहने गरी सम्झौता भएको थियो। निर्माणका क्रममा लागत वृद्धि भएपछि जापान सरकारले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो।

सुरुङ मार्ग निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले पाएको थियो। आयोजना सम्पन्न भएसँगै काठमाडौं प्रवेश–निर्गमनमा लाग्ने समय घट्ने, नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम कम हुने तथा यात्रालाई थप सुरक्षित, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।