आजको मौसमः मनसुन सक्रिय, वर्षाले देशभरको आवागमन प्रभावित हुन सक्ने
मनसुन सक्रिय रहेकाले बाढी, पहिरो, गेग्रान बहाव र भू-क्षयको जोखिम बढ्ने; मौसम विभागले आवश्यक सतर्कता अपनाउन आग्रह।
वि.सं.२०८३ साउन १० आइतवार ०७:१४
shares

काठमाडौं, १० साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा औसत स्थानभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानकै आसपास रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। अन्य तराई क्षेत्रमा भने आंशिक बदली छ। कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, कोशी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा पनि कोशी, बागमती र गण्डकीका केही स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ।राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसम विभागले विशेषगरी बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा विभागका पछिल्ला मौसम सूचनाहरू नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ।















