काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, सीमापार डिजिटल भुक्तानीदेखि एआई सहकार्यसम्म

नेपाल–भारतबीच सीमापार डिजिटल भुक्तानी सेवा औपचारिक रूपमा सञ्चालनमा, भूकम्पपछिका ८४ पुनर्निर्माण आयोजना नेपाललाई हस्तान्तरण, एआई र भाषा प्रविधि विकासका लागि नयाँ समझदारी, द्विपक्षीय सम्बन्धलाई नयाँ चरणमा लैजाने नेपालको संकेत

650
shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी सेवा विस्तार, भूकम्पपछिको पुनर्निर्माण सम्पन्न आयोजनाको हस्तान्तरण तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा सहकार्य गर्ने विषयमा तीन महत्वपूर्ण सहमति भएका छन्।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकर बीच भएको द्विपक्षीय भेटवार्ताका क्रममा यी सहमतिहरू सार्वजनिक गरिएका हुन्।

सहमतिअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच सन् २०२३ मा भएको समझदारीअनुसार व्यक्ति व्यक्तिबीच (पीटूपी) सीमापार डिजिटल भुक्तानी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। यस प्रणालीमार्फत नेपाल र भारतका नागरिकले डिजिटल माध्यमबाट सहज रूपमा रकम पठाउन र प्राप्त गर्न सक्नेछन्।

यस सेवाबाट दुवै देशका यात्रु, विद्यार्थी, श्रमिक तथा सीमापार व्यापार व्यवसायमा संलग्न नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। हालसम्म नेपालमा भारतीय पर्यटकले डिजिटल भुक्तानी सुविधा प्रयोग गर्दै आए पनि भारतमा नेपाली नागरिकले यस्तो सुविधा उपयोग गर्न पाएका थिएनन्।

त्यसैगरी भारत सरकारको सहयोगमा नेपालमा निर्माण सम्पन्न भएका भूकम्पपछिका ८४ वटा पुनर्निर्माण आयोजनाको औपचारिक हस्तान्तरणको घोषणा गरिएको छ। तीमध्ये ७२ वटा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पूर्वाधार रहेका छन् भने १२ वटा सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित आयोजना रहेका छन्।

भेटवार्ताका क्रममा काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ विद्यालयअन्तर्गतको इन्जिनियरिङ सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स र भारतको डिजिटल इन्डिया भाषिणी डिभिजनबीच ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने समझदारीपत्र पनि आदानप्रदान गरिएको छ।

उक्त सहकार्यले कृत्रिम बौद्धिकतामा आधारित बहुभाषिक डिजिटल सेवाको विकास, भाषा प्रविधिको विस्तार तथा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसैबीच परराष्ट्रमन्त्री खनालले भारतीय सञ्चारमाध्यम एन डि टिभी सँगको अन्तर्वार्तामा नेपालको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई ‘रिसेट’ गर्न चाहेको बताएका छन्। विगतका असहजता र मतभेदलाई पछाडि छोड्दै नयाँ चरणको सहकार्यतर्फ अघि बढ्ने लक्ष्य रहेको उनको भनाइ थियो।

उनले नेपाल सरकारले भारतसँग कनेक्टिभिटी ऊर्जा व्यापार तथा प्रविधि साझेदारीलाई आगामी दिनमा द्विपक्षीय सम्बन्धका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने नीति लिएको पनि स्पष्ट पारे।