महालक्ष्मी नगरपालिका वडा नं. ९ मा नयाँ वडा कार्यालय उद्घाटन, जेष्ठ नागरिक सम्मानित
महालक्ष्मी नगरपालिका का मेयर हरिगोविन्द श्रेष्ठ र उप मेयर लक्ष्मी महर्जन ले संयुक्त रुपमा उद्घाटन, “जेष्ठ नागरिकको अनुभव समाजका लागि प्रेरणाको स्रोत”
वि.सं.२०८३ जेठ २ शनिवार १५:१७
shares

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को नयाँ वडा कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी महालक्ष्मी नगरपालिका का मेयर हरिगोविन्द श्रेष्ठ र उप मेयर लक्ष्मी महर्जन ले संयुक्त रुपमा नवनिर्मित वडा कार्यालयको उद्घाटन गर्दै जेष्ठ नागरिकहरूलाई सम्मान गरेक थिए। कार्यक्रममा बोल्दै उपमेयर महर्जनले जेष्ठ नागरिकहरूलाई सम्मान गर्न पाउँदा आफू अत्यन्त खुशी भएको बताइन्।

उनले समाज निर्माणमा जेष्ठ नागरिकहरूको योगदान अमूल्य रहेको उल्लेख गर्दै उहाँहरूको अनुभव, ज्ञान र प्रेरणाले नयाँ पुस्तालाई सही मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरिन्। “जेष्ठ नागरिकहरू हाम्रो समाजका जीवित इतिहास र प्रेरणाका स्रोत हुन्। उहाँहरूको अनुभवबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्छ,” उनले भनिन्।
उपमेयर महर्जनले नयाँ वडा कार्यालयले स्थानीय नागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई अझ प्रभावकारी, सहज तथा जनमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा पनि व्यक्त गरिन्। उनले स्थानीय तहलाई नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा उल्लेख गर्दै सेवा प्रवाहमा पारदर्शिता, सहजता र उत्तरदायित्व आवश्यक रहेको बताइन्।
कार्यक्रममा वडा जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, जेष्ठ नागरिक तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिकहरूलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
स्थानीयवासीहरूले नयाँ वडा कार्यालय सञ्चालनमा आएपछि प्रशासनिक सेवा लिन सहज हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमले जेष्ठ नागरिकप्रति सम्मानको भावना अभिवृद्धि गर्न सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ थियो।


















