काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजदेखि विक्रम संवत् २०८३ सुरु : देशभर हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

वैशाख १ को अवसरमा शुभकामना आदानप्रदान, पूजा–आराधना, बिस्का जात्रा र विभिन्न सांस्कृतिक परम्परासहित नेपाल तथा विश्वभरका नेपाली समुदायमा उल्लासमय वातावरण

494
shares

काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ। वर्षको पहिलो दिन वैशाख १ गते नेपालभर नयाँ उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतको भावनासहित एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदैछ।

नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा प्राचीनकालदेखि चलिआएको छ। सबैभन्दा पुरानो संवतका रूपमा स्थापित विक्रम संवतको आज पहिलो दिन परेको हो। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति पनि भनिन्छ।विद्वानहरूका अनुसार सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् वैज्ञानिक र शाश्वत मानिन्छ। सूर्य मेष राशिमा प्रवेश गरेसँगै पुरानो वर्ष समाप्त भई नयाँ वर्ष सुरु हुने भएकाले यसको विशेष धार्मिक, सांस्कृतिक र खगोलीय महत्व रहेको विश्वास गरिन्छ।

नयाँ वर्षलाई विगतको समीक्षा र भविष्यको योजना बनाउने अवसरका रूपमा पनि लिइन्छ। यस दिन मानिसहरूले गत वर्षका सफलता–असफलताको मूल्याङ्कन गर्दै नयाँ लक्ष्य, योजना र सङ्कल्प गर्ने परम्परा छ।आज बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजा–आराधना गर्ने, मीठा परिकार खाने तथा परिवार, साथीभाइ र इष्टमित्रसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने चलन देशभर देखिन्छ।नेपालमा मात्रै होइन, विश्वभर रहेका नेपाली समुदायले पनि वैशाख १ लाई नयाँ वर्षका रूपमा उत्साहपूर्वक मनाउने गरेका छन्। भक्तपुरमा आज विशेष रूपमा बिस्का जात्रा मनाइँदैछ भने तराई–मधेशका केही क्षेत्रमा सहलेश फूल फुल्ने परम्पराले पनि यस दिनलाई थप विशेष बनाएको छ।

नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्। उनले नयाँ वर्षलाई देशको साझा राष्ट्रिय लक्ष्य तय गर्ने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने अवसर का रूपमा लिन आग्रह गरेका छन्।उपराष्ट्रपति राम सहाय प्रसाद यादव लगायत विशिष्ट व्यक्तित्वहरूले पनि नेपाली जनताको उन्नति, प्रगति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश दिएका छन्।