प्रारम्भिक परिणाममा रास्वपाको बलियो उपस्थिति, चार सिट जित्दै १०८ क्षेत्रमा अग्रता
काठमाडौँका चार क्षेत्रमा रास्वपा विजयी, मुस्ताङ र मनाङमा कांग्रेस सफल
वि.सं.२०८२ फागुन २२ शुक्रवार २२:०९
shares

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक परिणाममा उल्लेखनीय अग्रता बनाएको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाले चार स्थानमा जित दर्ता गरिसकेको छ भने देशभर १०८ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
काठमाडौँ–१ मा रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने दर्शना १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत प्राप्त गरेका थिए।
त्यसैगरी काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल २७ हजार ७ सय ११ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बाँनिया क्षेत्रीले ६ हजार ६ सय ४७ मत पाएका थिए।
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन्। यस क्षेत्रमा उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १ सय ७१ मत प्राप्त गरेका थिए।
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५ सय ९२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ३ हजार २ सय १७ मत प्राप्त गरेका थिए।
यता मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३ सय ७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधारा डादु विष्टले १ हजार ८ सय ६ मत प्राप्त गरेका थिए।
मनाङमा पनि कांग्रेसले जित निकालेको छ। कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ २ हजार ४ सय १५ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपाकी यसोदा गुरुङ (सुवेदी) ले ४ सय ५४ मत प्राप्त गरेकी थिइन्।
यसैबीच पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४ सय ६२ मत प्राप्त गरेका थिए।


















