काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

निर्वाचनको दिन अत्यावश्यक सवारीलाई पास नचाहिने

अत्यावश्यक सेवा, स्वास्थ्य, खाद्यान्न र हवाई यात्रुसम्बन्धी सवारीलाई छुट; अन्य सवारीका लागि पास अनिवार्य

1.46K
shares

काठमाडौं – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र तोकिएका प्रयोजनका लागि सञ्चालन हुने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेको छ। सवारी आवागमनलाई व्यवस्थित र सेवामैत्री बनाउन यस्तो निर्णय गरिएको आयोगले जनाएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार मतदानका दिन अत्यावश्यक सेवा अन्तर्गत सञ्चालन हुने दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीका ट्याङ्कर, दूरसञ्चार, विद्युत् तथा ढल मर्मतका गाडीले सवारी अनुमति पत्र (पास) लिनु नपर्ने व्यवस्था गरिएको छ।त्यस्तै दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलाई पनि पास आवश्यक नपर्ने आयोगले जनाएको छ। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घरदेखि अस्पतालसम्म आउन–जान प्रयोग हुने सवारी साधन पनि यस व्यवस्थामा समेटिएका छन्।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारी साधनलाई विमानस्थलसम्म वा घर तथा होटलसम्म आवतजावत गर्न पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ। हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, साना बच्चासहितका महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा हिँड्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र उनीहरूका एक जना सहयोगी बोकेका सवारी साधनलाई पनि छुट दिइएको छ।नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन, आयोगबाट जारी परिचयपत्र भएका पर्यवेक्षक तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारी साधनलाई समेत पास नचाहिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

यस बाहेकका अन्य सवारी साधन सञ्चालनका लागि भने पास अनिवार्य गरिएको छ। पास वितरणलाई सहज बनाउन निर्वाचन आयोग परिसरमा एकीकृत सवारीसाधन आवागमन डेस्क स्थापना गरिएको छ। उक्त डेस्कमा निर्वाचन आयोग, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहने व्यवस्था गरिएको आयोगले जनाएको छ।काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी हुने पासहरू सोही डेस्कमार्फत वितरण भइरहेको आयोगले जानकारी दिएको छ।