१५ वर्षदेखि सिंहदरबारमै रोकिएको तुलसी घिमिरेको मानार्थ नेपाली नागरिकता
चलचित्र विकास बोर्डको २०६८ सालको सिफारिस अझै निष्कर्षमा पुगेन, सञ्चार मन्त्रालयले फेरि गृह मन्त्रालयलाई अघि बढाउन गर्यो पत्राचार
वि.सं.२०८३ साउन ३ आइतवार ०९:१९
shares

काठमाडौं, साउन ३ । नेपाली चलचित्रका वरिष्ठ निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने प्रक्रिया डेढ दशक बितिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन। चलचित्र विकास बोर्डले २०६८ सालमै घिमिरेलाई मानार्थ नागरिकता दिन सरकारसमक्ष औपचारिक सिफारिस गरेको भए पनि प्रस्ताव अझै सरकारी फाइलमै सीमित रहेको छ।
पछिल्लो समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई पुनः पत्राचार गरे पनि अहिलेसम्म कुनै अन्तिम निर्णय हुन सकेको छैन।चलचित्र विकास बोर्डले नेपाली भाषा, कला, संस्कृति र चलचित्र क्षेत्रमा तुलसी घिमिरेले पुर्याएको विशिष्ट योगदानको सम्मानस्वरूप २०६८ सालमै तत्कालीन सूचना तथा सञ्चार मन्त्रालयमार्फत मानार्थ नागरिकताको प्रस्ताव अघि बढाएको थियो।त्यसपछि आवश्यक कागजातसहित फाइल गृह मन्त्रालय पुगे पनि निर्णय भने हुन सकेन। व्यक्तिगत विवरण, सम्मान तथा कदरपत्रलगायत सबै आवश्यक कागजात बुझाइसक्दा पनि करिब १५ वर्षदेखि प्रक्रिया अलपत्र परेको छ।
धार्मिक अभियन्ता प्रदीप खनालले १८ जेठ २०८३ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएपछि यो विषय फेरि चर्चामा आएको हो। त्यसपछि मन्त्रालयले १ असार २०८३ मा मन्त्रीस्तरीय निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो।खनालका अनुसार सरकारले मन्त्रालयबीचका निर्णयमा सहजीकरण गर्ने नीति लिएको भए पनि व्यवहारमा प्रक्रिया अझै अघि बढ्न सकेको छैन।
नेपालको संविधान २०७२ तथा नागरिकता ऐन २०६३ ले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरेका छन्।नेपालमा यसअघि टोनी हेगन, सर एडमन्ड हिलारी, किडिन फिलिप र ओमहोन जिललाई विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मानार्थ नेपाली नागरिकता प्रदान गरिएको थियो।
भारतको कालिम्पोङमा २००८ साल असार ३१ गते जन्मिएका तुलसी घिमिरे झन्डै पाँच दशकदेखि नेपालमै बसोबास गर्दै आएका छन्। २०३० सालमा नर्थ बंगाल विश्वविद्यालयबाट स्नातक गरेपछि उनी नेपाली चलचित्र क्षेत्रमा सक्रिय बने।उनले बाँसुरी, कुसुमे रुमाल, लाहुरे, बासुदेव, अन्याय, चीनो, देउता, दुई थोपा आँसु लगायत दुई दर्जनभन्दा बढी चर्चित चलचित्र निर्देशन गरेका छन्। उनका अधिकांश चलचित्र व्यावसायिक रूपमा सफल हुनुका साथै नेपाली सिनेमाका कालजयी कृतिका रूपमा स्थापित छन्।उनको पछिल्लो चलचित्र ‘पहाड’ गत वैशाख १ गते प्रदर्शनमा आएको थियो।
हाल ७६ वर्ष पुगेका घिमिरेले अहिलेसम्म अंगीकृत नागरिकताका लागि आफैं पहल नगरेको बताएका छन्।उनले भने, मलाई नागरिकता नहुँदा जीवनमा कहिल्यै ठूलो समस्या परेन। सरकारले दिइहाल्यो भने धन्यवाद दिन्छु। नेपाल मेरो मावली हो, नागरिकता पाएँ भने हजुरआमाको काखमा बसेजस्तै अनुभूति हुनेछ।उनका अनुसार एक समय बुद्धको जीवनमा आधारित ‘सिद्धार्थ गौतम’ चलचित्र निर्माणको तयारी भइरहेका बेला नेपाली नागरिकता आवश्यक पर्ने सुझावपछि साथीभाइले मानार्थ नागरिकताको पहल थालेका थिए। तर फिल्मका निर्माताको निधनपछि परियोजना रोकियो र नागरिकताको प्रक्रिया पनि अघि बढ्न सकेन।
गृह मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव सुमन घिमिरेका अनुसार सञ्चार मन्त्रालयबाट आवश्यक कागजातसहितको प्रस्ताव प्राप्त भइसकेको छ।उनका अनुसार अब गृहमन्त्रीको निर्णयपछि प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी छ। मन्त्री फिल्ड भ्रमणमा रहेकाले औपचारिक जानकारी गराउन बाँकी रहेको उनले बताए।यससँगै डेढ दशकदेखि रोकिएको तुलसी घिमिरेको मानार्थ नागरिकताको फाइलले फेरि एकपटक गति लिने अपेक्षा गरिएको छ।


















