काठमाडौं। त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङले अर्का...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

त्रिपुरेश्वर बस आगलागी : जलेर मृत्यु भएका चालक अर्जुन दोङले अर्काको लाइसेन्स बोकेर चलाउँथे बस

बालाजु बस दुर्घटनापछि फरार रहेको र विभिन्न समयमा फरक व्यक्तिको नाममा जारी लाइसेन्स प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलासा

182
shares

काठमाडौं। त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङले अर्का व्यक्तिको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रयोग गर्ने गरेको खुलेको छ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वर बस स्टप नजिकै आगलागी हुँदा चालक दोङ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले जानकारी दिए।प्रहरीका अनुसार दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका हुन्।

दोङ २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा समेत संलग्न रहेको र त्यसपछि फरार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।उक्त घटनापछि दोङले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको एसएसपी घिमिरेले बताए।त्यसैगरी, करिब तीन महिनाअघि काठमाडौंको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत दोङले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ।

त्रिपुरेश्वरमा भएको पछिल्लो घटनामा पनि उनले दाबा तामाङकै नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।चालक दोङले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा विभिन्न कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यसैबीच, अर्जुन दोङका दुईवटी श्रीमती रहेको समेत खुलेको छ। मंगलबार कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेका दुई महिलाले आफूहरू अर्जुन दोङका श्रीमती भएको बताएका छन्।प्रहरीले दोङले प्रयोग गरेका परिचयपत्र, सवारीचालक अनुमतिपत्र तथा अन्य कागजातको विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।