काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले पार्टीमा सामूहिक भावना, एकता र...

पुरा पढ्नुहाेस्

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता

१ हजार ३३३ शव व्यवस्थापन, पहिचानका लागि ३ हजार ३४५ वटा डीएनए नमुना सङ्कलन

1.04K
shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा मंगलबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ। बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानका क्रममा विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्।

प्राप्त विवरणअनुसार रसुवामा २३६, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जना गरी विभिन्न जिल्लामा १ हजार ४४९ जनाको शव फेला परेको छ।

यसैगरी काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ। यससँगै बाढीका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ४५१ पुगेको हो।

फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार ३३३ वटा शव व्यवस्थापन गरिएको छ। शव व्यवस्थापन भन्नाले पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्नुअघि शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको जनाइएको छ।

शव पहिचानका लागि मृतकका आफन्त तथा सम्बन्धित व्यक्तिहरूबाट डीएनए नमुना सङ्कलन गर्ने काम पनि भइरहेको छ। हालसम्म मृतकका १ हजार ३२९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३४५ वटा डीएनए नमुना सङ्कलन गरिएको छ।

यस्तै, पहिचान हुन बाँकी रहेका १ हजार ४२४ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। शवको पहिचानका लागि सम्बन्धित परिवार तथा आफन्तले उपलब्ध विवरणका आधारमा आवश्यक प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन र अन्य आवश्यक कार्यका लागि सुरक्षा निकायबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ। हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको जनाइएको छ।

बाढीपछि अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेका छन्। उपलब्ध विवरणअनुसार हालसम्म ४ हजार ७१८ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य विभिन्न प्रभावित क्षेत्रमा निरन्तर भइरहेको छ।

यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ३४२ जना व्यक्तिलाई राखिएको छ। उद्धार गरिएका तथा जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गरिएका व्यक्तिहरूलाई आवश्यक व्यवस्थापन तथा समन्वयका लागि होल्डिङ सेन्टरमा राखिएको हो।

बाढी प्रभावित क्षेत्रमा अझै पनि खोजी तथा उद्धार, शव पहिचान, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण र पुनःस्थापनासम्बन्धी काम जारी रहेको सम्बन्धित निकायले जनाएको छ।