१८ दिनपछि पृथ्वी राजमार्गको कृष्णभीरमा यातायात सेवा पुनः सञ्चालन
नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याइयो, राजधानीतर्फको आवागमन सहज हुने अपेक्षा
वि.सं.२०८३ असोज १ बिहीवार ०८:२०
shares

चितवन । अठार दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा यातायात सेवा बिहीबार बिहानदेखि पुनःसञ्चालनमा आएको छ। गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण सडकको तल्लो भाग कटानमा परेर भासिएपछि उक्त सडकखण्डमा यातायात सेवा प्रभावित भएको थियो।
सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नयाँ ट्र्याक निर्माण गरी कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको हो। बाढीका कारण सडकको करिब १०० मिटर भाग नदीले बगाएपछि राजमार्ग अवरुद्ध बनेको थियो।सडक अवरुद्ध भएपछि गत भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर वैकल्पिक ट्र्याक निर्माणको काम सुरु गरिएको थियो। नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक निर्माण कार्य सम्पन्न गरी बिहीबार बिहानदेखि नियमित रूपमा सडक सञ्चालनमा ल्याइएको हो।
उनका अनुसार सडक पुनःनिर्माणका क्रममा आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको थियो। नदी कटानबाट क्षतिग्रस्त सडकमा नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम तीव्र गतिमा अघि बढाइएपछि छोटो समयमै यातायात सञ्चालन गर्न सम्भव भएको हो।सडकमा लामो समयदेखि रोकिएका केही सवारीसाधनलाई दुई दिनअघिदेखि साँझको समयमा क्रमशः पार गराइएको थियो। बिहीबारदेखि भने सडकमा नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो।
कृष्णभीरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आंशिक रूपमा रोकिएको सडक सञ्चालनमा ल्याइएको छ।चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सडक सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक सडक बन्द गरेर भइरहेको पहिरो रोकथाम तथा व्यवस्थापनको काम रोकिएको जानकारी दिए। उनका अनुसार अब सवारी आवागमनलाई सहज बनाउनेतर्फ प्राथमिकता दिइएको छ।
कृष्णभीरमा लामो समयसम्म सडक अवरुद्ध हुँदा ठूला सवारीसाधनलाई संघीय राजधानी काठमाडौं आवतजावत गर्न समस्या भएको थियो। पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रिने अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुँदा राजधानीमा एलपी ग्यासलगायतका वस्तुको आपूर्तिमा समेत असर परेको थियो।पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडकमार्ग हो। सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो।
गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको थियो। त्यसपछि भदौ १४ गते आएको थप बाढीका कारण कृष्णभीरलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान तथा भासिने समस्या देखिएको थियो।अन्य स्थानमा सडक मर्मत तथा व्यवस्थापन गरी यातायात सञ्चालनमा ल्याइए पनि कृष्णभीरमा सडकको ठूलो भाग नै भासिएपछि लामो समयसम्म यातायात अवरुद्ध भएको थियो।पृथ्वी राजमार्ग हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने भएकाले कृष्णभीरमा सडक सञ्चालनमा आएसँगै यात्रु तथा मालवाहक सवारीको आवागमन सहज हुने अपेक्षा गरिएको छ।















