आज विश्वकर्मा पूजा मनाइँदै
सवारीसाधन, कलकारखानाका उपकरण तथा औजारको पूजा गरी विश्वकर्मा पूजा मनाउने धार्मिक परम्परा
वि.सं.२०८३ असोज १ बिहीवार ०८:११
shares

काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदै छ। प्रत्येक वर्ष असोज १ गते अर्थात् आश्विन सङ्क्रान्तिका दिन भगवान् विश्वकर्माको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ।विश्वकर्मा पूजाका अवसरमा मानिसहरूले आफ्ना सवारीसाधन, कलकारखाना तथा उद्योगधन्दामा प्रयोग हुने धातुजन्य उपकरण, मेसिन, औजार तथा विभिन्न काममा प्रयोग गरिने साधनको पूजा गर्ने परम्परा छ।
हिन्दू धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मालाई निर्माण, वास्तुकला, शिल्पकला तथा प्रविधिका देवताका रूपमा पूजा गरिन्छ। विश्वकर्माले देवताका लागि विभिन्न भवन, अस्त्र–शस्त्र तथा भौतिक संरचना निर्माण गरेको धार्मिक विश्वास रहिआएको छ।
विशेषगरी कालिगड, मेकानिक, इन्जिनियर, उद्योगी तथा विभिन्न प्राविधिक क्षेत्रमा कार्यरत व्यक्तिहरूले विश्वकर्मा पूजालाई विशेष महत्त्वका साथ मनाउने गर्छन्। यस दिन आफ्नो कार्यस्थल सफा गर्ने, मेसिन तथा औजारको सरसफाइ गरी पूजा गर्ने र आगामी दिनमा सुरक्षित तथा सहज रूपमा काम गर्न सकियोस् भन्ने कामना गरिन्छ।
धार्मिक विश्वासअनुसार आजका दिन कालिगड तथा कामदारले प्रयोग गर्ने औजार र उपकरणको पूजा आराधना गरेमा ती साधन लामो समयसम्म टिक्ने, कामका क्रममा कम बिग्रने तथा राम्रो काम गर्न सहयोग पुग्ने विश्वास रहेको छ।
विश्वकर्मा पूजा श्रम, सीप, प्रविधि र सिर्जनशीलताको सम्मान गर्ने पर्वका रूपमा पनि लिइन्छ। यस अवसरमा विभिन्न उद्योग, कलकारखाना, ग्यारेज तथा कार्यालयहरूमा विशेष पूजा आयोजना गर्ने गरिन्छ।















