अजा एकादशीको व्रत आज, सर्वपाप नाश भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास
भगवान् विष्णुको ऋषिकेश स्वरूपको पूजा आराधना गरिने अजा एकादशी राजा हरिश्चन्द्रको सत्यनिष्ठा र त्यागसँग जोडिएको छ
वि.सं.२०८३ भदौ २२ सोमवार ०९:३७
shares

काठमाडौँ, २२ भदौ।भाद्र महिनाको कृष्णपक्षमा पर्ने एकादशीलाई अजाएकादशी भनिन्छ।सनातन धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको यस दिन निष्ठापूर्वक व्रत बसी भगवान् विष्णुको पूजा आराधना गर्नाले सर्वपाप नाश भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।
अजा एकादशीको पौराणिक कथा चक्रवर्ती राजा हरिश्चन्द्रको सत्यनिष्ठा, त्याग र कठिन परीक्षासँग जोडिएको छ।पौराणिक कथाअनुसार राजा हरिश्चन्द्र सत्यवादिता र धर्मपालनाका लागि प्रसिद्ध थिए। दैवको लीला र सत्यको परीक्षाका क्रममा उनले आफ्नो सम्पूर्ण राज्य, धन सम्पत्ति गुमाउनुपरेको थियो। सत्यको रक्षाका लागि उनले आफू, पत्नी र छोरासमेत बेचेर चाण्डालको सेवक भई श्मशानघाटमा शवदाह गर्ने काम गर्नुपरेको थियो।
श्मशानघाटमा कष्टकर जीवन बिताइरहेका हरिश्चन्द्र आफ्नो दुःख र पूर्वजन्मका पापबाट कसरी मुक्ति पाउने भन्ने चिन्तामा थिए। त्यही समयमा महर्षि गौतम उनीकहाँ आए। राजाले आफ्नो दुःख सुनाएपछि महर्षि गौतमले भाद्रपद कृष्ण पक्षमा पर्ने अजा एकादशीको विधिपूर्वक व्रत बसी भगवान् ऋषिकेश (विष्णु)को पूजा गर्न सुझाव दिए।महर्षिको उपदेशअनुसार राजा हरिश्चन्द्रले श्रद्धापूर्वक अजा एकादशीको व्रत बसे र रातभर जागरण गरे। धार्मिक मान्यताअनुसार व्रतको प्रभावले उनका पूर्वजन्मका पाप तथा दुष्कर्म नष्ट भए।
व्रतको फलस्वरूप भगवान् विष्णु प्रसन्न भई हरिश्चन्द्रलाई उनको हराएको राज्य, धन सम्पत्ति र परिवार पुनः प्राप्त गराएको कथामा उल्लेख छ। मृत छोरासमेत पुनर्जीवित भएपछि राजा हरिश्चन्द्रले आफ्नो पूर्ववत् जीवन प्राप्त गरेका थिए। अन्ततः उनी आफ्ना प्रजासहित परमधाम गएको धार्मिक कथामा वर्णन गरिएको छ।यसै कारण अजा एकादशीको व्रत निष्ठापूर्वक पालना गर्दा मानिसका पाप, दुःख र सङ्कट नष्ट भई हराएको सुख समृद्धि पुनः प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।


















