तमोर नदीमा ७ करोड ८५ लाख लागतमा बेल ब्रिज निर्माण सम्पन्न
फक्ताङ्लुङ–५ तापेथोक र वडा नं. ६ लेलेप जोड्ने ५४.८ मिटर लामो मोटरेबल पुल सञ्चालनमा
वि.सं.२०८३ भदौ १४ आइतवार ०९:१४
shares

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा तमोर नदीमाथि बेल ब्रिज निर्माण सम्पन्न भएको छ । यातायात सञ्चालनलाई सहज बनाउने उद्देश्यले तमोर इनर्जी प्रालिले पुल निर्माण गरेको हो ।
फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा नं. ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेबल) बेल ब्रिज निर्माण गरिएको हो ।
कुल ७ करोड ८५ लाख १९ हजार १७६ रुपैयाँ लागतमा बेल ब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार पुलको लम्बाइ ५४.८ मिटर र चौडाइ ४.५ मिटर रहेको छ ।
पुल निर्माण सम्पन्न भएसँगै फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, वडा नं. ६ लेलेप र वडा नं. ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालन गर्न सहज भएको गाउँपालिकाले जनाएको छ ।
तमोर इनर्जी प्रालिको प्रवर्द्धनमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण भइरहेको छ ।


















