देशभर आज गाईजात्रा पर्व मनाइँदै
काठमाडौं उपत्यकासहित देशभर विभिन्न सांस्कृतिक तथा हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गरिँदै
वि.सं.२०८३ भदौ १३ शनिवार ०७:४८
shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै छ। गाईजात्राका अवसरमा विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ।
गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाउने परम्परा छ। विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर तथा टोल परिक्रमा गराउने चलन छ।
गाईजात्राका क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार यसरी नगर परिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्ने विश्वास गरिन्छ।
गाईजात्राको ऐतिहासिक सम्बन्ध काठमाडौंका तत्कालीन राजा प्रताप मल्लसँग जोडिएको छ। पुत्रशोकमा रहेकी आफ्नी रानीलाई संसारमा सबैले कुनै न कुनै रूपमा शोक बेहोर्नुपर्छ भन्ने अनुभूति गराउन राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएको ऐतिहासिक मान्यता छ।
गाईजात्राले रानीको शोक कम गर्न नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न राजाले आदेश दिएको जनश्रुति छ। त्यसैबाट गाईजात्रामा हास्यव्यङ्ग्य तथा सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने परम्परा विकास भएको मानिन्छ।
समयसँगै गाईजात्रा धार्मिक तथा सांस्कृतिक पर्वका साथै सामाजिक विकृति, विसङ्गति र समसामयिक विषयमाथि व्यङ्ग्य गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत स्थापित भएको छ।


















