भोटेकोशी बाढीको जोखिम अझै टरेन : तिब्बततर्फ थुनिएको नदीको ताल पूर्ण रूपमा नखुलेको प्राविधिक प्रतिवेदनको निष्कर्ष
भोटेकोशीबाट प्रवेश गरेको बाढी त्रिशूली हुँदै देवघाटसम्म पुग्यो, मलेखु र कालीखोलामा खतरा तह पार
वि.सं.२०८३ भदौ ११ बिहीवार ०८:५२
shares
फाईल तस्वीर
काठमाडौँ, ११ भदौ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीको प्रभाव त्रिशूली हुँदै नारायणी नदीसम्म पुगेको जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सार्वजनिक गरेको ‘२०८३ भोटेकोशी-त्रिशूली-नारायणी बाढी’ सम्बन्धी प्राविधिक प्रतिवेदनले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै पूर्ण रूपमा समाप्त नभएको निष्कर्ष निकालेको छ।
प्रतिवेदनअनुसार चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेको सूचना प्राप्त भएकाले त्यस क्षेत्रमा थप पानीको बहाव उत्पन्न हुने सम्भावनालाई तत्काल पूर्ण रूपमा नकार्न सकिने अवस्था छैन। त्यसैले भोटेकोशी-त्रिशूली-नारायणी नदी प्रणालीमा निरन्तर वास्तविक समय अनुगमन आवश्यक रहेको महाशाखाले जनाएको छ।
महाशाखाले नदी किनार तथा सम्भावित डुबान क्षेत्रमा रहेका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन तथा सुरक्षित अग्लो स्थानमा रहन आग्रह गरेको छ।
प्रतिवेदनअनुसार भदौ १० गते बिहान ८ः३७ बजे नेपाल-चीन सीमापारि तिब्बतको लेन्दे आसपास ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको थियो।त्यसको केही समयपछि बिहान ८ः५० बजे भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो।
केन्द्रबाट प्राप्त भएको अन्तिम तथ्याङ्कअनुसार ८ः४० बजे भोटेकोशीको जलसतह १.६२ मिटर थियो। उक्त केन्द्रको चेतावनी तह ६ मिटर र खतरा तह ९ मिटर रहेको प्रतिवेदनमा उल्लेख छ।
बिहान करिब ९ बजे जिल्ला प्रशासन कार्यालय रसुवा तथा बेत्रावतीस्थित जलमापन केन्द्रका कर्मचारीमार्फत तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको सूचना महाशाखाले प्राप्त गरेको थियो।
त्यसपछि महाशाखाले उपलब्ध जलसतह, बाढीको बहावको यात्रा तथा प्राप्त सूचनाका आधारमा नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसूचना र सतर्कता सन्देश प्रवाह गर्न थालेको थियो।
९ः१५ बजेदेखि पूर्वसूचना र सतर्कता
बिहान ९ः१५ बजे भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको जानकारीका आधारमा महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गर्दै प्रारम्भिक पूर्वसूचना जारी गरेको थियो।
रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी छेउछाउका बासिन्दालाई सतर्क गराइएको थियो। त्यसको एक मिनेटपछि, अर्थात् ९ः१६ बजे, नेपाल टेलिकम र एनसेलमार्फत तटीय क्षेत्रका नागरिकलाई मोबाइल सन्देश पठाएर उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रतिवेदनमा उल्लेख छ।
महाशाखाका अनुसार प्राप्त पूर्वसूचनाका आधारमा धेरै नागरिकले समयमै आफ्नो ज्यान जोगाउन सफल भएका थिए।
स्याफ्रुबेँसीपछि बेत्रावतीको तथ्याङ्क पनि बन्द
बिहान ९ः२० बजे बेत्रावती जलमापन केन्द्रबाट पनि तथ्याङ्क प्राप्त हुन बन्द भयो। केन्द्रबाट प्राप्त अन्तिम तथ्याङ्कअनुसार ९ः२० बजे जलसतह ३.५५ मिटर थियो।
यसरी बाढीको तीव्रतासँगै भोटेकोशी-त्रिशूली प्रणालीका महत्वपूर्ण जलमापन केन्द्रहरूबाट तथ्याङ्क आउन बन्द भएपछि बाढीको वास्तविक जलसतह र बहावको प्रत्यक्ष मापनमा चुनौती देखिएको थियो।
१०ः२८ बजे गल्छी, ११ः५० बजे मलेखु
बाढीको मुख्य बहाव क्रमशः तल्लो तटीय क्षेत्रतर्फ सर्दै गएको थियो। प्रतिवेदनअनुसार बिहान १०ः२८ बजे बाढी धादिङको गल्छी आसपास पुगेको थियो। त्यसपछि पृथ्वी राजमार्ग, मुग्लिन-नारायणगढ सडकखण्ड तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन पुनः सूचना प्रवाह गरिएको थियो।
बिहान ११ः२६ बजे फुर्के (मलेखु) जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको थियो। त्यसको १७ मिनेटपछि, ११ः४३ बजे जलसतहले खतरा तहसमेत पार गरेको थियो।खतरा तह पार गरेको केही समयमै फुर्के खोला जलमापन केन्द्रसमेत पुलसहित बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ।
बिहान ११ः५० बजे बाढी मलेखु बजार आसपास पुगेको थियो। त्यसपछि करिब आधा घण्टामा मुग्लिन पार गर्ने अनुमान गर्दै मुग्लिन, नारायणगढ तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो।
दिउँसो १ बजे मुग्लिन पार
प्रतिवेदनअनुसार दिउँसो १ः०० बजे बाढीले मुग्लिन पार गरिसकेको जानकारी प्राप्त भएको थियो। त्यसपछि देवघाटसम्मका नदी आसपासका बासिन्दालाई नदी क्षेत्रबाट सुरक्षित स्थानमा जान अनुरोध गरिएको थियो। दिउँसो १ः२० बजे चितवन-देवघाट बाढी मापन केन्द्रमा जलसतह ४.७६ मिटर मापन भएको थियो। त्यसबेला बाढीको मुख्य बहाव करिब ३ः३० बजे देवघाट पुग्ने प्रारम्भिक अनुमान गरिएको थियो।महाशाखाले त्यतिबेला जलसतहमा करिब ३ मिटर वृद्धि भई करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक आकलन गरेको थियो।
तिब्बतमा बनेको ताल पूर्ण रूपमा नखुलेको सूचना
बाढी देवघाटतर्फ अघि बढिरहेका बेला दिउँसो १ः३५ बजे चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जानकारी प्राप्त भएको थियो।यसपछि महाशाखाले भोटेकोशी तथा त्रिशूली क्षेत्रमा जोखिम कायमै रहेको भन्दै विभिन्न माध्यमबाट पुनः सतर्कता सन्देश प्रवाह गरेको थियो।
महाशाखाको प्राविधिक निष्कर्षमा पनि यही विषयलाई मुख्य जोखिमका रूपमा औँल्याइएको छ। नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेको अवस्थामा माथिल्लो भोटेकोशी क्षेत्रमा थप पानीको बहाव उत्पन्न हुन सक्ने सम्भावना रहेकाले जोखिम पूर्ण रूपमा टरेको मान्न नसकिने प्रतिवेदनमा उल्लेख छ।
कालीखोलामा १२.३ मिटर जलसतह
दिउँसो २ः१४ बजे धादिङको कालीखोला जलमापन केन्द्रमा जलसतहले खतरा तह १२.१ मिटर पार गरेको थियो।त्यहाँ जलसतह बढ्दै गएर अधिकतम १२.३ मिटर पुगेको प्रतिवेदनमा उल्लेख छ।यसले भोटेकोशीबाट आएको बाढीको प्रभाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा तीव्र रूपमा विस्तार भएको देखाएको महाशाखाको प्राविधिक विश्लेषण छ।
३ः२० बजे देवघाट क्षेत्रमा पुग्यो बाढी
बाढीको मुख्य बहाव दिउँसो ३ः२० बजे नारायणी–देवघाट क्षेत्रमा पुगेको थियो। स्वचालित बाढी मापन केन्द्रबाट प्राप्त सूचनाअनुसार त्यस समयमा जलसतह बढ्दो क्रममा थियो।त्यसपछि ४ बजे देवघाट जलमापन केन्द्रमा जलसतह अधिकतम ६.५७ मिटर पुगेको थियो। त्यसपछि भने जलसतह घट्न थालेको प्रतिवेदनमा उल्लेख छ। साँझ ६ः३० बजेसम्म देवघाटमा जलसतह करिब ४ मिटरको सामान्य अवस्थातर्फ फर्किएको थियो।
देवघाटबाट करिब २ करोड घनमिटर अतिरिक्त बाढी
देवघाट जलमापन केन्द्रको तथ्याङ्कको प्राविधिक विश्लेषणअनुसार दिउँसो २ः१० बजेदेखि साँझ ६ बजेसम्म बाढीको बहाव उल्लेख्य रूपमा वृद्धि भएको थियो।करिब ४ बजे उच्चतम बहाव ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड पुगेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
यस अवधिमा आधार बहाव करिब २ हजार ६०० घनमिटर प्रतिसेकेन्ड लाई आधार मान्दा देवघाटबाट पार भएको कुल पानीको अनुमानित आयतन करिब ५७.४० मिलियन घनमिटर रहेको गणना गरिएको छ।त्यसमध्ये आधार बहावभन्दा अतिरिक्त बाढीजन्य पानीको आयतन करिब १९.९६ मिलियन घनमिटर, अर्थात् करिब २ करोड घनमिटर रहेको प्राविधिक आकलन छ।
चार जलमापन केन्द्रका उपकरण बाढीले बगायो
बाढीको तीव्रता र बहावका कारण महत्वपूर्ण जलमापन केन्द्रहरूमा समेत क्षति पुगेको छ।प्रतिवेदनअनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत सञ्चालित:
- रसुवा-भोटेकोशी,
- रसुवा-स्याफ्रुबेँसी,
- नुवाकोट-बेत्रावती,
- धादिङ-मलेखु (फुर्के)
जलमापन केन्द्रका उपकरणहरू बाढीले बगाएको कारण ती स्थानबाट यकिन जलसतह तथा बहावको तथ्याङ्क प्राप्त हुन सकेन।यसका कारण बाढीको वास्तविक अधिकतम बहाव र जलसतहको प्रत्यक्ष तथ्याङ्क संकलनमा कठिनाइ भएको महाशाखाले जनाएको छ।
तिब्बत सीमादेखि देवघाटसम्म १६८ किलोमिटर यात्रा
प्राविधिक प्रतिवेदनले तिब्बत-नेपाल सीमादेखि देवघाटसम्म बाढीको बहावले तय गरेको नदी दूरीसमेत विश्लेषण गरेको छ।
प्रतिवेदनअनुसार तिब्बत-नेपाल सीमाबाट देवघाटसम्मको कुल नदी दूरी करिब १६८ किलोमिटर रहेको छ।यस क्रममा भोटेकोशी-रसुवागढी, त्रिशूली-बेत्रावती, त्रिशूली-मलेखु, त्रिशूली–कालीखोला, त्रिशूली-भोले तथा नारायणी-देवघाटलगायतका जलमापन केन्द्रहरू पर्दछन्।यसले माथिल्लो भोटेकोशीबाट प्रवेश गरेको बाढी क्रमशः त्रिशूली हुँदै नारायणी प्रणालीमा कसरी तलतर्फ सरेको थियो भन्ने देखाउँछ।
देवघाटमा अनुमानभन्दा कम जलसतह
महाशाखाले प्रारम्भिक रूपमा देवघाटमा जलसतह करिब ८ मिटर पुग्न सक्ने अनुमान गरेको थियो। तर पछिल्लो वास्तविक मापनअनुसार देवघाटमा अधिकतम जलसतह ६.५७ मिटर मात्र पुगेको देखिएको छ। प्रतिवेदनले प्रारम्भिक आकलनअनुसार यो बाढी ठूलो पुनरावृत्ति अवधिको चरम बाढीभन्दा २–३ वर्ष पुनरावृत्ति अवधिको बाढीको स्तरमा रहने अनुमान गरिएको उल्लेख गरेको छ।
यद्यपि माथिल्लो भोटेकोशीमा नदी थुनिएको स्थानको अवस्था अझै पूर्ण रूपमा सामान्य नभएकाले भविष्यमा थप पानीको बहाव आउन सक्ने जोखिमलाई भने पूर्ण रूपमा नकार्न नसकिने महाशाखाको निष्कर्ष छ।
जोखिम अझै समाप्त भएको छैन
महाशाखाका अनुसार भोटेकोशी-त्रिशूली–नारायणी नदी प्रणालीमा हाल पनि निरन्तर जलसतह अनुगमन भइरहेको छ। देवघाट तथा तल्लो तटीय क्षेत्रमा बाढीको प्रभावको निरन्तर मूल्याङ्कन भइरहेको छ।नदी किनार तथा सम्भावित डुबान क्षेत्रमा रहेका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। चीनतर्फ नदी थुनिएको स्थानमा बनेको तालको अवस्थाबारे प्राप्त हुने नयाँ सूचनालाई निरन्तर विश्लेषण गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
महाशाखाका मुख्य सिफारिस
प्राविधिक प्रतिवेदनले आगामी दिनका लागि विभिन्न उपाय अवलम्बन गर्न सुझाव दिएको छ।
पहिलोभोटेकोशी-त्रिशूली-नारायणी नदी प्रणालीका प्रमुख जलमापन केन्द्रमा वास्तविक–समय अनुगमन निरन्तर गर्नुपर्ने।
दोस्रोचीनतर्फ नदी थुनिएको स्थान तथा बनेको तालको अवस्थाबारे प्राप्त हुने सूचनालाई निरन्तर अद्यावधिक गर्नुपर्ने।
तेस्रोदेवघाट तथा तल्लो तटीय क्षेत्रमा जलसतह र बाढीको प्रभावको निरन्तर मूल्याङ्कन गर्नुपर्ने।
चौथोनदी किनार तथा सम्भावित डुबान क्षेत्रका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित अग्लो स्थानमा रहन अनुरोध जारी राख्नुपर्ने।
पाँचौँजलसतहको वास्तविक अभिलेख र प्रारम्भिक पूर्वानुमानबीचको अन्तरको विश्लेषण गरी आगामी बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणालीको प्राविधिक समीक्षा गर्नुपर्ने।
छैटौँप्राविधिक अध्ययनलाई निरन्तरता दिँदै घटनाको कारण र प्रभावसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गर्नुपर्ने।
बाढीको मुख्य यात्रा एक नजरमा
- ८ः३७ बजे — ४.४ रेक्टर स्केलको भूकम्प मापन।
- ८ः५० बजे — स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क आउन बन्द।
- ९ः०० बजे — तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त।
- ९ः१५ बजे — नदी तटीय क्षेत्रमा प्रारम्भिक पूर्वसूचना तथा सतर्कता।
- ९ः२० बजे — बेत्रावती जलमापन केन्द्रबाट तथ्याङ्क आउन बन्द।
- १०ः२८ बजे — बाढी धादिङको गल्छी आसपास।
- ११ः२६ बजे — फुर्के (मलेखु) केन्द्रमा सतर्कता तह पार।
- ११ः४३ बजे — फुर्के केन्द्रमा खतरा तह पार।
- ११ः५० बजे — बाढी मलेखु बजार आसपास।
- १ः०० बजे — बाढीले मुग्लिन पार गर्यो।
- १ः३५ बजे — तिब्बततर्फ थुनिएको नदीको ताल अझै पूर्ण रूपमा नखुलेको सूचना।
- २ः१४ बजे — कालीखोलामा खतरा तह पार; अधिकतम १२.३ मिटर।
- ३ः२० बजे — बाढी नारायणी–देवघाट क्षेत्रमा।
- ४ः०० बजे — देवघाटमा अधिकतम ६.५७ मिटर जलसतह।
- ६ः३० बजे — देवघाटमा जलसतह करिब ४ मिटरमा फर्कियो।
निष्कर्ष
भोटेकोशीमा तिब्बततर्फबाट प्रवेश गरेको बाढी केही घण्टामै त्रिशूली हुँदै नारायणी–देवघाटसम्म पुगेको घटनाले नदी प्रणालीमा बाढीको बहाव कति तीव्र गतिमा तल्लो तटीय क्षेत्रमा विस्तार हुन सक्छ भन्ने देखाएको छ।देवघाटमा बाढीको अधिकतम जलसतह प्रारम्भिक अनुमानभन्दा कम रहे पनि माथिल्लो भोटेकोशी क्षेत्रमा नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको सूचनाका कारण जोखिम पूर्ण रूपमा समाप्त भएको मान्न नसकिने महाशाखाको निष्कर्ष छ। त्यसैले भोटेकोशीदेखि त्रिशूली हुँदै नारायणी नदी प्रणालीका तटीय क्षेत्रका बासिन्दाले तत्कालको बाढी घट्दै गएको अवस्थालाई मात्रै आधार बनाएर जोखिम टरेको ठान्न नहुने र अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता कायम राख्नुपर्ने देखिन्छ।




















