आजको मौसमः तराई भू–भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, केही प्रदेशमा भारी वर्षा, बाढी–पहिरोको जोखिम
वि.सं.२०८३ भदौ ११ बिहीवार ०७:२९
shares

काठमाडौं, ११ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भू भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।त्यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भाग, बागमती र गण्डकी प्रदेशका हिमाली भू भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू भाग र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू भागका एक दुई स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयको जोखिम रहेको विभागले जनाएको छ।वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार तथा राहतका काममा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।विभागले मौसम तथा विपद्सम्बन्धी पछिल्ला सूचनाबारे नियमित रूपमा अद्यावधिक रहनसमेत अनुरोध गरेको छ।


















