काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

तुलसीदास जयन्ती: जसले करोडौँले पाठ गर्ने हनुमान चालीसा र श्रीरामचरितमानस रचे

429
shares

काठमाडौं,३ भदाै । आज महान् भक्ति कवि, सन्त तथा दार्शनिक गोस्वामी तुलसीदास को जन्मजयन्ती देश विदेशका सनातन धर्मावलम्बीले श्रद्धापूर्वक मनाउँदै छन्। तुलसीदासलाई हिन्दू धर्मका सबैभन्दा लोकप्रिय तथा प्रभावशाली कविहरूमध्ये एक मानिन्छ, जसले रामभक्तिलाई जन जनसम्म पुर्‍याउने ऐतिहासिक भूमिका निर्वाह गरेका थिए।

परम्परागत मान्यताअनुसार तुलसीदासको जन्म विक्रम संवत्को १६ औँ शताब्दीमा भारतको उत्तर प्रदेशस्थित राजापुर (चित्रकूट नजिक) मा भएको मानिन्छ। उनका जीवनसँग जोडिएका धेरै घटनाहरू धार्मिक परम्परा र लोकविश्वासमा आज पनि चर्चित छन्।धार्मिक विश्वासअनुसार तुलसीदास जन्मनेबित्तिकै अन्य शिशु झैँ नरोई “राम” नाम उच्चारण गरेका थिए। यही कारण उनको बाल्यकालको नाम रम्बोला रहन गएको उल्लेख विनय पत्रिका मा पाइन्छ।लोकमान्यताअनुसार उनी १२ महिना आमाको गर्भमा रहेका र जन्मिँदा १२ वटा दाँतसहित जन्मिएका थिए भन्ने कथन पनि प्रचलित छ। यद्यपि यी विवरण धार्मिक परम्परा र जनविश्वासमा आधारित मानिन्छन्।

तुलसीदासको जन्म भएको केही समयमै उनका पिताको निधन भएको बताइन्छ। पारिवारिक विपत्तिका कारण घरमा कार्यरत चुनिया नामकी सेविकाले उनको पालनपोषण गरिन्। पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोलाले दैलो दैलो भिक्षा माग्दै जीवन बिताएको उल्लेख विभिन्न जीवनीमा गरिएको छ।उनले आफ्नो जीवनको अधिकांश समय बनारस (वाराणसी) मा बिताए। आज पनि वाराणसीमा रहेको तुलसी घाट उनको स्मृतिसँग जोडिएको ऐतिहासिक स्थल मानिन्छ।

तुलसीदासले त्यतिबेला संस्कृतमा सीमित धार्मिक ज्ञानलाई सर्वसाधारणले बुझ्ने अवधी भाषा मा प्रस्तुत गरे। यसले रामायणको सन्देश गाउँ गाउँसम्म पुग्न सफल भयो र उत्तर भारतदेखि नेपालसम्म रामभक्तिको व्यापक लहर फैलियो।उनको सबैभन्दा महान् कृति श्रीरामचरितमानस लाई हिन्दू धर्मको लोकप्रिय महाकाव्य मानिन्छ। यस ग्रन्थले भगवान् श्रीरामको जीवन, आदर्श र धर्मलाई सहज भाषामा प्रस्तुत गरेको छ।

विश्वभरका करोडौँ श्रद्धालुले दैनिक पाठ गर्ने हनुमान चालीसा का रचयिता पनि तुलसीदास नै हुन्। ४० चौपाइ र दुई दोहाबाट बनेको यो स्तुतिगान हिन्दू धर्ममा सबैभन्दा बढी पाठ गरिने भक्तिगीतमध्ये एक मानिन्छ। उनका अन्य चर्चित कृतिहरूमा विनय पत्रिका, कवितावली, दोहावली, गीतावली र जानकी मङ्गल रहेका छन्।

तुलसीदास जयन्तीका अवसरमा देशभरका राम तथा हनुमान मन्दिरमा श्रीरामचरितमानस र हनुमान चालीसा को सामूहिक पाठ, भजन कीर्तन, धार्मिक प्रवचन तथा सत्संग आयोजना गरिन्छ। उनका रचनाले समाजमा भक्ति, सदाचार र नैतिक मूल्यको सन्देश फैलाउँदै आएको विश्वास गरिन्छ।