आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी पहिरोको जोखिम बढ्यो
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने, विभागले सतर्क रहन आग्रह
वि.सं.२०८३ साउन १७ आइतवार ०७:१८
shares

काठमाडौं, १७ साउन। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानको आसपास तथा पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। यसैबीच, देशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू भागका केही स्थान तथा पहाडी भू भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू भाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।भारी वर्षाको सम्भावना रहेकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका जोखिमयुक्त क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यस्ता मौसमीय गतिविधिका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागले आफ्नो पछिल्लो मौसम सूचना नियमित रूपमा अद्यावधिक गर्दै सुरक्षित रहन अनुरोध गरेको छ।















