फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा, आजबाट नकआउट चरण सुरु
समूह चरण सकिएसँगै १६ टोलीको टुंगो, आज रातिदेखि क्यानडा–मोरक्को र फ्रान्स–पराग्वेबीच पहिलो नकआउट खेल।
वि.सं.२०८३ असार २० शनिवार १२:०२
shares

काठमाडौं, २० असार । फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ टोलीको टुंगो लागेको छ। शनिबार बिहान अन्तिम खेलहरू सम्पन्न भएपछि नकआउट चरणको समीकरण पूरा भएको हो।
समूह चरणबाट जर्मनी, नेदरल्यान्ड्स, सेनेगल र जापानजस्ता बलिया टोली बाहिरिँदा पहिलो पटक विश्वकप खेलेको केप भर्डेले भने आफ्नो प्रदर्शनबाट सबैको मन जितेको छ। प्रतियोगिताबाट बाहिरिए पनि अर्जेन्टिनालाई अतिरिक्त समयसम्म संघर्ष गर्न बाध्य बनाएको केप भर्डेको प्रदर्शनको फुटबल वृत्तमा व्यापक प्रशंसा भइरहेको छ।
यसपटकको विश्वकपको अन्तिम १६ मा आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले स्थान बनाउन सफल भएका छन्। उनीहरूसँगै फ्रान्स, पराग्वे, मोरक्को, पोर्चुगल, स्पेन, बेल्जियम, ब्राजिल, नर्वे, इङ्ल्यान्ड, अर्जेन्टिना, इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बियाले पनि नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।
अन्तिम १६ अन्तर्गत पराग्वेले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ भने क्यानडाले मोरक्कोसँग खेल्नेछ। यस्तै, पोर्चुगल र स्पेन आमनेसामने हुँदा अमेरिका र बेल्जियमबीच पनि रोमाञ्चक प्रतिस्पर्धा हुनेछ।त्यसैगरी ब्राजिलले नर्वेको सामना गर्नेछ भने मेक्सिकोले इङ्ल्यान्डसँग खेल्नेछ। अर्जेन्टिना र इजिप्टबीचको प्रतिस्पर्धा पनि उत्तिकै आकर्षक हुने अपेक्षा गरिएको छ। अन्तिम १६ को अर्को खेलमा कोलम्बियाले स्विट्जरल्यान्डको सामना गर्नेछ।नकआउट चरणका खेल शनिबार रातिदेखि सुरु हुँदैछन्। पहिलो खेल नेपाली समयअनुसार राति १०ः४५ बजे क्यानडा र मोरक्कोबीच हुनेछ। दोस्रो खेल राति २ः४५ बजे फ्रान्स र पराग्वेबीच हुनेछ।


















