एसईई आजदेखि सुरु, ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी; नतिजा एक महिनाभित्र आउने तयारी
देशभर १,९६६ परीक्षा केन्द्रबाट बिहीबार बिहान ८ बजेदेखि एसईई सुरु हुँदै, ग्रेडवृद्धिका ६५ हजारभन्दा बढी विद्यार्थी पनि सहभागी
वि.सं.२०८२ चैत १९ बिहीवार ०७:४७
shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबार बिहान ८ बजेदेखि देशभर सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका उप–नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार यस वर्ष नियमित तथा ग्रेडवृद्धिसहित ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। परीक्षाका लागि देशभर १ हजार ९ सय ६५ र जापानमा १ वटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन्।यस वर्ष ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जिल्लागत रूपमा सबैभन्दा धेरै परीक्षार्थी काठमाडौंमा रहेका छन्, जहाँ १ सय ३५ परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ विद्यार्थी परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा १ केन्द्रबाट ३७ विद्यार्थी सहभागी हुनेछन्। जापानस्थित केन्द्रबाट २३ जना विद्यार्थी परीक्षामा बस्नेछन्।
यस वर्ष ग्रेडवृद्धिका लागि पनि ६५ हजार ८ सय ९५ विद्यार्थी सहभागी हुँदैछन्। एक पटक असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर दिइने व्यवस्था रहेको कार्यालयले जनाएको छ। विशेषतः २०७९ सालमा नियमिततर्फ परीक्षा दिएर हालसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूलाई पनि यस वर्ष फारम भर्ने अवसर दिइएको छ। बालसुधार गृहमा रहेका विद्यार्थीलाई नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिने व्यवस्था गरिएको छ। सम्बन्धित केन्द्राध्यक्षले प्रश्नपत्र, उत्तरपुस्तिका र निरीक्षक पठाएर बालसुधार गृहभित्रै परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको ज्ञवालीले बताए। यस्ता उत्तरपुस्तिका सम्बन्धित केन्द्रकै विद्यार्थी भए अन्यसँगै जाँच हुनेछ भने फरक केन्द्रका भए छुट्टै प्याकेजिङ गरेर परीक्षा नियन्त्रण कार्यालय पठाइने छ।विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका लागि आवश्यकताअनुसार विशेष व्यवस्था गरिएको छ। उनीहरूलाई ३ घण्टाको परीक्षामा थप १ घण्टा ३० मिनेट समय उपलब्ध गराइनेछ।आफैँ लेख्न नसक्ने विद्यार्थीका लागि लेखन सहयोगीको व्यवस्था गरिएको छ। सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थी राख्नुपर्नेछ, जसलाई विद्यालयले फोटोसहित प्रमाणित गर्नुपर्नेछ। यस्ता परीक्षार्थीलाई छुट्टै कक्षामा राखेर परीक्षा सञ्चालन गरिनेछ।
परीक्षा बिहान ८ बजे सुरु हुने भएकाले विद्यार्थीलाई ढिलोमा साढे ७ बजेसम्म परीक्षा केन्द्रमा पुग्न, प्रवेशपत्र, आवश्यक लेखन सामग्री साथमा ल्याउन र मोबाइललगायत निषेधित सामग्री नल्याउन आग्रह गरिएको छ।परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।कार्यालयका अनुसार यस पटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै सोही दिनदेखि जाँच सुरु हुने व्यवस्था मिलाइएको छ। परीक्षक र सुपरीक्षकले जाँच सम्पन्न गरी लब्धांकपत्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत परीक्षा नियन्त्रण कार्यालय पठाउने प्रणाली अपनाइनेछ।विगतमा जस्तो नतिजाका लागि दुई–तीन महिना कुर्नु नपर्ने भन्दै कार्यालयले यस वर्ष छिटो नतिजा प्रकाशनलाई प्राथमिकता दिएको जनाएको छ।
परीक्षा अवधिभर कक्षाकोठामा अनावश्यक भीडभाड हुन नदिन र विद्यार्थीलाई सहज वातावरणमा परीक्षा दिन सहयोग गर्न अनुगमनमा कडाइ गरिने कार्यालयले जनाएको छ। कुनै समस्या आए तत्काल निरीक्षकलाई जानकारी गराउन पनि विद्यार्थीलाई आग्रह गरिएको छ।
















