राष्ट्रियसभा निर्वाचन आज: सातै प्रदेशमा १७ पदका लागि मतदान
कोशीमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित
वि.सं.२०८२ माघ ११ आइतवार ०९:५९
shares
फाइल तस्वीर
काठमाडौँ । राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदमध्ये १७ पदका लागि आज देशभर एकैपटक निर्वाचन भइरहेको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा मतदान सञ्चालन हुने व्यवस्था गरिएको छ।
आगामी २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १८ जना सदस्यको पदावधि सकिँदैछ। तीमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका कारण आज बाँकी १७ पदका लागि मात्र मतदान हुन लागेको हो।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सातै प्रदेशमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण प्राविधिक, सुरक्षात्मक र प्रशासनिक तयारी पूरा भइसकेको जानकारी दिएका छन्। उनका अनुसार प्रत्येक प्रदेशमा तोकिएका मतदान केन्द्रमा शान्तिपूर्ण र निष्पक्ष ढंगले मतदान गराउने व्यवस्था मिलाइएको छ।
प्रदेशगत रूपमा मतदान केन्द्र निर्धारण गरिएको छ। कोशी प्रदेशका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेशका लागि जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र तथा बागमती प्रदेशका लागि हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान हुँदैछ।त्यसैगरी गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यहरूका साथै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। उनीहरूको मतभार फरक–फरक रहने भएकाले यो निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ।
निर्वाचन आयोगले तोकिएको समयभित्र मतदानमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सबै मतदातालाई आग्रह गरेको छ। आजको निर्वाचनबाट चयन हुने सदस्यहरूले आगामी छ वर्षसम्म राष्ट्रियसभामा प्रतिनिधित्व गर्नेछन्।

















