काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

प्रतिनिधिसभा निर्वाचनमा उजुरी न्यून

प्रक्रिया सहज रूपमा अघि बढेको आयोगको निष्कर्ष

1.22K
shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन चरण अपेक्षाकृत सहज देखिएको छ। देशभर दर्ता भएका ३ हजार ४८६ उम्मेदवारमध्ये जम्मा पाँच जनाविरुद्ध मात्र उजुरी परेपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको निष्कर्ष निकालेको छ।

निर्वाचन आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा मंगलबार सम्पन्न मनोनयन दर्तापछि बुधबार तोकिएको समयभित्र पाँचवटा उजुरी मात्र प्राप्त भएका हुन्। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले उजुरीको सङ्ख्या न्यून हुनु निर्वाचन प्रक्रियाप्रति दल र उम्मेदवारहरू सचेत तथा जिम्मेवार देखिएको संकेत भएको बताए। प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारको योग्यता नपुगेको दाबी गर्दै उजुरी दिन बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। सो अवधिमा प्राप्त उजुरीहरूमाथि सम्बन्धित निर्वाचन अधिकृतले उजुरी परेको उम्मेदवारलाई प्रमाणसहित उपस्थित हुन निर्देशन दिइसकेका छन्।

आयोगको कार्यतालिकाअनुसार बुधबार दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ। त्यसपछि माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ।यस्तै, उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ। सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गरिने र साँझ ७ बजेसम्म निर्वाचन चिह्न वितरण गरिनेछ।

आयोगका अनुसार यस निर्वाचनमा ३ हजार ८९ पुरुष, ३९६ महिला र १ जना तेस्रो लिङ्गी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सबै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मनोनयन सम्पन्न हुनु र उजुरीको सङ्ख्या न्यून रहनुले निर्वाचन वातावरण सकारात्मक बनेको आयोगको ठहर छ।निर्वाचन आयोगले आगामी चरणहरू पनि निर्धारित कार्यतालिकाअनुसार निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।