काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४११ जनाको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

प्रतिनिधिसभा निर्वाचनको महत्वपूर्ण चरण, आज उजुरी दर्ताको अन्तिम दिन

२ हजार ९२५ उम्मेदवारबीच प्रतिस्पर्धा, भोलि जाँचबुझ र पर्सि अन्तिम नामावली

3.32K
shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ। निर्वाचन आयोगले आज माघ ७ गते उम्मेदवारहरूविरुद्ध उजुरी दिन सकिने अन्तिम दिन तोकेको छ, जससँगै निर्वाचन तालिका थप स्पष्ट र कसिलो बन्दै गएको छ।

पहिलो हुने निर्वाचित हुने (एफपीटीपी) प्रणाली अन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारको योग्यता, कानुनी हैसियत वा मापदण्डमाथि प्रश्न उठाउन चाहनेले आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराउन सक्नेछन्। आयोगका अनुसार प्राप्त उजुरीहरूको माघ ८ गते बेलुका ५ बजेसम्म जाँचबुझ गरी निर्णय लिइनेछ।

निर्वाचन कार्यक्रम अनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन्। त्यसपछि सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिने र साँझ ७ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

यसअघि देशभरका १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगको भनाइ छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी र कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी चरणहरूमा पनि सहकार्यको अपेक्षा व्यक्त गरेकाछन।

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार प्रतिनिधिसभा सदस्यका लागि हालसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष छन्। साथै अपाङ्गता भएका व्यक्तिबाट ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जनाले उम्मेदवारी दिएका छन्।

उम्मेदवारहरूको उल्लेख्य सहभागिता र विविधताले आसन्न प्रतिनिधिसभा निर्वाचनप्रति राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको चासो मात्र होइन, लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास पनि बढ्दो क्रममा रहेको संकेत गरेको छ।