काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

ललितपुर–३ मा विभिन्न दलका उम्मेदवारको मनोनयन दर्ता, प्रतिस्पर्धा चर्किने संकेत

1.29K
shares

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार देशभर एकैपटक मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। सोही क्रममा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पनि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले प्रत्यक्ष रूपमा वा वारेसमार्फत मनोनयन दर्ता गराएका हुन्। मनोनयनका क्रममा उम्मेदवारहरू आफ्ना समर्थकसहित पार्टीका झण्डा, नारासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

ललितपुर–३ मा नेपाली कांग्रेसबाट जितेन्द्र श्रेष्ठ, नेकपा एमालेबाट सन्देश थापा मगर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. तोसिमा कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सविन कुमार खड्का तथा उज्यालो नेपाल पार्टीबाट डा. विजय पन्त लागायतले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा पनि केही व्यक्तिहरूले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। उम्मेदवारहरूले मनोनयन दर्ताका क्रममा निर्वाचन आयोगले तोकेअनुसार नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीमा नाम दर्ता भएको प्रमाण, दलको आधिकारिक सिफारिस पत्र, सम्पत्ति विवरणलगायत आवश्यक कागजात पेस गरेका छन्।

मनोनयन दर्तापछि उम्मेदवारहरूले आफूहरू विजयी हुने दाबी गर्दै ललितपुर–३ को विकास, सुशासन र प्रभावकारी प्रतिनिधित्वलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषतः रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्कीले यसअघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेको स्मरण गराउँदै यसपटक जित सुनिश्चित हुने दाबी गरेकी छन्।

निर्वाचन आयोगका अनुसार मनोनयन दर्तापछि प्रारम्भिक नामावली प्रकाशन, उजुरी दर्ता तथा छानबिनको प्रक्रिया अगाडि बढाइनेछ। अन्तिम नामावली सार्वजनिक भएपछि निर्वाचन प्रचार–प्रसार औपचारिक रूपमा तीव्र हुने आयोगको तयारी छ।

ललितपुर–३ मा प्रमुख दल र नयाँ राजनीतिक शक्तिबीच प्रतिस्पर्धा देखिन थालेसँगै यस क्षेत्रको नतिजाले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।