काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

सुधारिएको कांग्रेसको सन्देशसहित चुनावी मैदानमा कांग्रेस

2.6K
shares

काठमाडौं । नेपाली कांग्रेसले आफूलाई सुधारिएको र एकताबद्ध पार्टीका रूपमा प्रस्तुत गर्दै आगामी निर्वाचनमा होमिएको दाबी गरेको छ। पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको आयोजनामा तथा नेपाल प्रेस युनियनको संयोजनमा केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले आफ्नो चुनावी रणनीति र आन्तरिक एकताको सन्देश सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उम्मेदवार छनोट प्रक्रियादेखि नै पार्टीभित्र सुधारको अभ्यास गरिएको बताए। उनका अनुसार कांग्रेसले यसपटक योग्य, लोकप्रिय र संगठनसँग जोडिएका उम्मेदवारलाई प्राथमिकतामा राख्दै ‘सुधारिएको कांग्रेस’ को सन्देश जनतामाझ पुर्‍याउन खोजेको छ।

प्रवक्ता चालिसेले उम्मेदवारी वितरणका क्रममा केही स्थानमा असन्तुष्टि देखिएको स्वीकार गर्दै भने, उम्मेदवारीकै क्रममा कांग्रेस सुधारिएको भन्ने कुरा प्रस्तुत गरेका छौँ। केही साथीहरूले विद्रोह गर्नुभएको थियो। तर ती असन्तुष्टिहरूलाई संवाद र छलफलमार्फत समाधान गरिएको उनको भनाइ थियो।उनले थप स्पष्ट पार्दै भने,विद्रोह गर्नुभएका साथीहरूसँग बीचमा सरसल्लाह गरेर विवाद टुंग्याइएको छ। अहिले उहाँहरू आधिकारिक उम्मेदवारलाई नै सहयोग गर्न तयार हुनु भएको छ। यसले पार्टीभित्र एकताको वातावरण पुनः स्थापित भएको सन्देश दिएको उनले बताए।

कांग्रेस नेतृत्वले आन्तरिक विवादलाई चुनावी अभियानमा नकारात्मक असर पर्न नदिने रणनीति अपनाएको र संगठनलाई तल्लो तहसम्म सक्रिय बनाइएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो। पार्टीले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र जनताको जीवनस्तर सुधारलाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएको कांग्रेसको भनाइ छ।

पत्रकार सम्मेलनमा सहभागी नेताहरूले कांग्रेस अब विगतका कमजोरी सुधार्दै नयाँ ढंगले जनतामाझ जाने र चुनावी प्रतिस्पर्धामा मजबुत रूपमा उभिने विश्वास व्यक्त गरेका छन्।