काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

प्रतिनिधि सभा निर्वाचन: मंगलबार देशैभर उम्मेदवारी दर्ता हुने

उम्मेदवारले बुझाउनुपर्ने १३ कागजात अनिवार्य

1.03K
shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । देशभर रहेका ८८ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतका कार्यालयमार्फत मंगलबार एकैपटक मनोनयनपत्र दर्ता गरिनेछ ।

निर्वाचन आयोगका अनुसार १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ–छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले यसपटक उम्मेदवारले सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था आचारसंहितामै समेटिएको जानकारी दिए । उनले सम्पत्ति विवरण सिलबन्दी गरी पेस गर्नुपर्ने र स्वघोषणामा आचारसंहिता तथा निर्वाचन कानून पालना गर्ने प्रतिबद्धता उल्लेख गर्नुपर्ने बताए ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्नेछ । यसमा नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य गरिएको छ । सरकारी, प्रदेश वा स्थानीय तह तथा सरकारको स्वामित्व वा अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक लिने पदमा बहाल रहेका व्यक्तिले सम्बन्धित पदबाट राजीनामा दिएको प्रमाण पनि पेस गर्नुपर्नेछ । उम्मेदवारले प्रतिनिधि तोकी मनोनयन दर्ता गराउँदा निर्देशिकाबमोजिमको प्रतिनिधि मुकरर फारम भर्नुपर्ने व्यवस्था छ । साथै, सोही निर्वाचन क्षेत्रका अन्तिम मतदाता नामावलीमा नाम भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरणसहितको मनोनयनपत्र आवश्यक पर्ने आयोगले जनाएको छ ।

दलको तर्फबाट उम्मेदवारी दिँदा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको निकायबाट जारी औपचारिक मनोनयन पत्र पनि संलग्न गर्नुपर्नेछ । संयुक्त रूपमा निर्वाचनमा सहभागी दलका हकमा छुट्टै ढाँचाको औपचारिक पत्र आवश्यक पर्नेछ ।मनोनयन दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ । महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई धरौटीमा ५० प्रतिशत छुट दिइनेछ । विपन्न उम्मेदवारका हकमा स्थानीय तहको सिफारिस पत्र पनि अनिवार्य गरिएको छ ।उम्मेदवारले आफ्नो चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, सेयर, ऋण तथा अन्य आर्थिक विवरण उल्लेख गरी सिलबन्दी गरेको सम्पत्ति विवरण बुझाउनुपर्नेछ । साथै, वैयक्तिक विवरण फारम, पेस्की फर्छ्यौटको निस्सा, बेरुजु फर्छ्यौटको प्रमाण र निर्वाचन आचारसंहिताअनुसारको प्रतिबद्धता पत्र पनि संलग्न गर्नुपर्ने आयोगले जनाएको छ ।

मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता हुनेछ भने सोही दिन साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ । माघ ७ गते उजुरी दिने समय तोकिएको छ भने माघ ८ गतेसम्म जाँचबुझ गरी उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ ।माघ ९ गते उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।