काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

उपत्यकामा यस वर्षकै चिसो, काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍यो

1.14K
shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा चिसो उल्लेख्य रूपमा बढेको जनाएको छ। विभागका अनुसार यस वर्षकै सबैभन्दा बढी चिसो सोमबार बिहान काठमाडौं उपत्यकामा महसुस गरिएको हो।

जल तथा मौसम विज्ञान विभागको अद्यावधिक तथ्यांकअनुसार सोमबार बिहान काठमाडौं उपत्यकाको कीर्तिपुरमा न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै ललितपुरको खुमलटार र भक्तपुरको नगरकोटमा २.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ। उपत्यका आसपासका क्षेत्रमा पनि चिसोको प्रभाव बढ्दै गएको विभागले जनाएको छ। सिन्धुपाल्चोकको चौतारामा बिहानको तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ।

उपत्यकासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसो अझ तीव्र देखिएको छ। लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस पुगेको छ भने जुम्ला विमानस्थलमा माइनस ५.९ डिग्री सेल्सियस र हुम्लाको सिमकोट विमानस्थलमा माइनस ५.१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यी क्षेत्रहरूमा चिसोका कारण जनजीवन थप प्रभावित हुन थालेको स्थानीय प्रशासनले जनाएको छ।

विभागका अनुसार हाल पश्चिमी तथा उत्तरी वायुको प्रभावले देशभर चिसो बढिरहेको हो। बिहान र रातिको समयमा तापक्रम अझ घट्ने सम्भावना रहेको भन्दै विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

चिसो बढेसँगै उपत्यकामा बिहानको समयमा कुहिरो र हुस्सु लाग्ने क्रम पनि बढेको छ, जसका कारण सडक यातायात र हवाई उडानमा आंशिक असर पर्न सक्ने विभागले जनाएको छ। विभागले आगामी केही दिनसम्म न्यूनतम तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको भन्दै न्यानो लुगा लगाउन, आगो ताप्दा सतर्कता अपनाउन र आवश्यक परे स्वास्थ्य सेवा लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।