काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

मदुरो पक्राउपछि भेनेजुएलामा हलचल, अमेरिकी कदमले विश्व राजनीति ततायो

1.2K
shares

काठमाडौँ । भेनेजुएला अहिले विश्व राजनीतिको केन्द्रमा पुगेको छ । राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरी देश बाहिर लगेको दाबी गरेपछि अन्तर्राष्ट्रिय स्तरमा तीव्र प्रतिक्रिया सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकार गठन नहुँदासम्म भेनेजुएलाको शासन अमेरिकाकै नियन्त्रणमा रहने घोषणा गरेका छन् ।

शनिबार अमेरिकी सेनाले राजधानी कराकाससहित विभिन्न शहरमा सैन्य आक्रमण गरेको बताइएको छ । आक्रमणलगत्तै राष्ट्रपति मदुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको विशेष इकाइ डेल्टा फोर्सले नियन्त्रणमा लिएको दाबी गरिएको छ । त्यसपछि मदुरोलाई न्यूयोर्क पुर्‍याइएको जनाइएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत मदुरो पक्राउ परेको जानकारी दिँदै तस्बिर सार्वजनिक गरेका छन् । सार्वजनिक तस्बिरमा मदुरोको हातमा हतकडी, आँखामा कालोपट्टी र कानमा हेडफोन देखिन्छ । यस घटनाले भेनेजुएलाको आन्तरिक राजनीति मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्धमा समेत तरंग ल्याएको छ ।

भेनेजुएलाको छिमेकी मुलुक कोलम्बियाले घटनालाई लिएर उच्च सतर्कता अपनाएको छ । राष्ट्रपति गुस्ताभो पेत्रोले सीमामा सेना तैनाथ गर्न आदेश दिएका छन् । सम्भावित शरणार्थी प्रवेश र सुरक्षा जोखिमलाई ध्यानमा राखेर सीमा क्षेत्रमा निगरानी कडा बनाइएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघले अमेरिकी आक्रमण र मदुरो पक्राउको समाचारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले यस्तो कार्य अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुन सक्ने भन्दै खतरनाक उदाहरण स्थापित हुने चेतावनी दिएका छन् । उनले भेनेजुएलाका सबै पक्षलाई मानव अधिकार र कानुनी शासनको सम्मान गर्न आग्रह गरेका छन् ।

युरोपेली संघले पनि संयम अपनाउन आह्वान गरेको छ । इयू विदेश नीति प्रमुख काजा कलासले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान अनिवार्य हुने बताएकी छन् । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले भने अमेरिकी कारबाहीमा बेलायत संलग्न नरहेको स्पष्ट पारेका छन् ।

अमेरिकी कदमको रुस, चीन र क्युबाले कडा आलोचना गरेका छन् । रुसले यसलाई  स्वतन्त्र राष्ट्रमाथिको सशस्त्र आक्रमण भनेको छ भने चीनले भेनेजुएलाको सार्वभौमिकता र क्षेत्रीय शान्तिमाथि गम्भीर खतरा उत्पन्न भएको टिप्पणी गरेको छ ।

स्पेनले शान्तिपूर्ण समाधान खोज्न मध्यस्थता गर्न सक्ने प्रस्ताव अघि सारेको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले मदुरो पक्राउ अमेरिकी कानून प्रवर्तन निकायसँगको समन्वयमा गरिएको दाबी गर्दै घटनाबारे थप विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

भेनेजुएलामा भएको यो अप्रत्याशित घटनाक्रमले ल्याटिन अमेरिका मात्र होइन, विश्व राजनीतिक सन्तुलनमै नयाँ बहस र चिन्ता थपिएको छ ।