वैकल्पिक राजनीतिक शक्तिको एकीकरण: रास्वपाले कुलमान घिसिङलाई उपसभापति बनाउँदै उज्यालो नेपाल पार्टीलाई समेट्यो
वि.सं.२०८२ पुस १५ मंगलवार १०:०८
shares

काठमाडौँ । नेपाली राजनीतिमा वैकल्पिक शक्तिहरूबीच सहकार्यको संकेत देखिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकीकरण भएको छ। सहमतिअनुसार उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएको छ भने उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ रास्वपाको उपसभापति बनेका छन्।
रास्वपाका सभापति रवि लामिछाने र कुलमान घिसिङबीच भएको सहमतिले दुवै पक्षको राजनीतिक यात्रालाई एउटै धारमा ल्याएको छ। एकतापछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् रहनेछन्। पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँमै रहने सहमति भएको छ।
सहमति पत्रमा पछिल्लो समय भएका राजनीतिक आन्दोलन, विशेष गरी २०८२ साल भदौमा भएको जेन–जी आन्दोलनका शहीद र घाइतेप्रति सम्मान व्यक्त गर्दै उनीहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ। भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै सुशासन, सामाजिक न्याय र समुन्नत अर्थतन्त्र निर्माणमा एकीकृत रूपमा अघि बढ्ने दुवै दलको साझा धारणा छ।
एकतापछि पार्टीको नेतृत्व संरचनामा पनि परिवर्तन आएको छ। रवि लामिछाने केन्द्रीय सभापति रहनेछन् भने उपसभापतिमा कुलमान घिसिङसहित डीपी अर्याल र स्वर्णिम वाग्ले रहनेछन्। उज्यालो नेपाल अभियानलाई रास्वपाका कार्यक्रमसँग जोड्दै संगठनलाई थप सशक्त बनाइने र उज्यालो नेपालसँग आबद्ध युवा अभियन्ता तथा विज्ञहरूलाई योग्यता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिइने सहमतिमा उल्लेख छ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीचको यो एकीकरणलाई वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै लोकतान्त्रिक सुशासन र विकासका मुद्दामा नयाँ गति दिने प्रयासका रूपमा हेरिएको छ। एकतापछि सम्बन्धित दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गरिने र अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह तथा व्यक्तिलाई पनि ‘घण्टी’ चिन्हमा गोलबद्ध हुन आह्वान गरिएको छ।
यस्तो छ सहमतिका सात बुँदा-
१- नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने,
२- उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन प्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,
३- पहिलो पक्ष र दोस्रो पक्षबिच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल, र स्वर्णिम वाग्ले रहने,
५- उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कर्यक्रमहरु सँग जोड्दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६- यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७- राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने ।












