नेपाली क्रिकेटको बहुप्रतिक्षित फ्रेन्चाइज लिग एनपीएल आजदेखि सुरु
उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच
वि.सं.२०८२ मंसिर १ सोमवार १०:१९
shares
फाइल तस्वीर
काठमाडौं, मंसिर १ ।
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण आजबाट सुरु हुँदै छ। क्रिकेट प्रेमीहरूको उत्साह बीच किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीचको प्रतिस्पर्धाले नयाँ सिजनको सुरुवात हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो ४ बजेदेखि सुरु हुनेछ।
यस वर्षको एनपीएलका अधिकांश खेल नवनिर्मित टियु मैदानको फ्लडलाइटमा हुने क्यानले जनाएको छ। लिग चरण मंसिर २१ (डिसेम्बर ७) मा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने खेलसँग समापन हुनेछ। प्लेअफअन्तर्गत पहिलो क्वालिफायर डिसेम्बर ९ मा, इलिमिनेटर डिसेम्बर १० मा र दोस्रो क्वालिफायर डिसेम्बर ११ मा तोकिएको छ। फाइनल भने मंसिर २७ (डिसेम्बर १३) शनिबार दिउँसो साढे ३ बजे सुरु हुनेछ।
क्यानले लिगका सबै खेल बिहान ११:१५ र दिउँसो ४ बजे सञ्चालन गर्ने निर्णय गरेको छ। दुई खेल हुने दिन दुवै खेल सोही समयमा हुने छन् भने एक मात्र खेल हुने दिन खेल दिउँसो ४ बजेदेखि हुनेछ। लिग चरणका चार खेल भने विशेष रुपमा दिउँसो साढे ३ बजे सुरु हुनेछ।
क्यानक सचिव पारस खड्काले दोस्रो सिजनमा ३५ देखि ४० करोड रूपैयाँ सम्म आम्दानी हुने बताएकाछन्। एनपीएलमा ३५ देखि ४० करोड रूपैयाँसम्म आम्दानी हुनसक्ने अनुमान रहेको बताएका हुन् । खड्काले प्रयोजकबाट १५ करोड ३० लाख, सहभागी टिमहरूबाट ९ करोड, ओटीटीबाट पाँच करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोडसम्म उठ्ने अनुमान क्यानको रहेको उनले जानकारी दिएका छन् । क्यानले यस सिजन पुरस्कार रकमलाई गतबर्षकै कायम राखेको छ । जसअनुसार विजेता टोलीले १ करोड १० लाख पुरस्कार पाउने छ भने उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् । टिकटदर: क्यानले एनपीएल खेलका टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ, जसमा साधारण र प्रिमियम रहेका छन् । उद्घाटन दिन र शनिबारका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १५०० राखिएको छ । साताका अन्य दिन (आइतबारदेखि शुक्रबार) हुने खेलहरूका लागि साधारण टिकट ५०० र प्रिमियम टिकटको मूल्य १००० तोकिएको छ । प्लेअफ र फाइनल खेलका लागि भने टिकटको साधारण टिकटको १००० र प्रिमियम टिकटको २००० राखिएको छ । प्रतियोगिताका सबै खेल हेर्न चाहने दर्शकका लागि क्यानले सिजन पासको पनि व्यवस्था गरेको छ, जसको मूल्य १५,००० तोकिएको छ । प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनरका रूपमा ‘खल्ती बाई आइएमई’ रहेको छ भने दर्शकहरूले खल्ती एपमार्फत सहजै आफ्नो टिकट किन्न सक्ने क्यानले जनाएको छ । साथै क्यानले प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूका लागि टिकट बिक्री खुला गरेको छ । विहिबार टिकट खोलेको २४ घण्टामै उद्घाटन खेलको सबै टिकट बिक्रि भएको क्यानले जनाएको छ ।



















